आन्तरिक उडानमा बुद्ध, यती र श्री एयरलाइन्सको वर्चस्व, किन टिक्दैनन् नयाँ कम्पनी ?
टुरिजमफेस
काठमाडौं । नेपालको आन्तरिक हवाई उडान बजारमा दर्जनौं कम्पनीले अनुमति लिए पनि सीमित कम्पनीको मात्र एकाधिकार देखिएको छ । करिब साढे दुई दशकदेखि सेवा दिइरहेका बुद्ध एयर, यती एयरलाइन्स र पछिल्लो समय उदाएको श्री एयरलाइन्सबीच मात्रै मुख्य प्रतिस्पर्धा चलेको छ । नयाँ वायुसेवा कम्पनीहरू दर्ता हुने क्रम बढे पनि बजारमा टिक्न नसक्दा छोटो समयमै बन्द हुने गरेका छन् ।
विगत २७ वर्षयता बुद्ध र यती एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न आएका धेरै कम्पनीहरू समयअनुकूल जहाज थप्न नसक्दा र व्यवस्थापकीय कमजोरीका कारण बन्द भएका छन् । पछिल्लो दुई दशकमा करिब ५ दर्जन वायुसेवा कम्पनी दर्ता भए पनि हाल नियमित उडानमा ९ वटा कम्पनी मात्र अस्तित्वमा छन् । तीमध्ये सौर्य र गुण एयरलाइन्सको सेवा हाल ठप्प छ भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उपस्थिति निकै कमजोर बनेको छ ।
निगमको ओरालो यात्रा र निजीको फाइदा
आन्तरिक उडानमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसँग दुईवटा ट्वीनअटर जहाज मात्र छन्, ती पनि प्राविधिक समस्याका कारण नियमित उडानमा आउन सकेका छैनन् । निगमको यो कमजोरीको प्रत्यक्ष लाभ निजी क्षेत्रले लिइरहेको छ । कमिसनको खेल, कमजोर रणनीति र ६ वटा चिनियाँ जहाज सञ्चालन गर्न नसकी ‘ग्राउन्डेड’ गराउनु पर्ने बाध्यात्मक परिस्थितिले निगम थला परेको छ । ती जहाज त्रिभुवन विमानस्थलमा थन्किएर बसेका छन् भने निगममाथिको ऋणको भार बर्सेनि बढ्दो छ ।
ट्रङ्क रुटमा तीन कम्पनीको राज
सहरी क्षेत्रका सुगम विमानस्थल (ट्रङ्क रुट) मा बुद्ध, यती र श्री एयरलाइन्सले बजार हिस्सा ओगटेका छन् । दुर्गम क्षेत्रमा उडान गर्ने सीता, समिट र तारा एयरले विशिष्ट सेवा दिने भए पनि सहरी क्षेत्रको प्रतिस्पर्धामा उनीहरू छैनन् । बुद्ध एयरले आधुनिक जहाज र स्तरीय सेवाका कारण नेपाली आकाशमा सबैभन्दा बलियो उपस्थिति बनाएको छ । त्यस्तै यती एयरलाइन्स एटीआर–७२ जहाजमार्फत बुद्धको प्रमुख विकल्पको रूपमा स्थापित छ । र, पछिल्लो समयमा बुद्ध र यतीलाई चुनौती दिँद श्री एयरलाइन्स अघि बढेको छ । हेलिकप्टर र फिक्स्ड विङमा यो अझै अगाडि छ ।
हेलिकप्टर कम्पनीको अवस्था
हाल १२ वटा कम्पनीले हेलिकप्टर सेवा दिइरहेका छन् । एयर डाइनेस्टी, अल्टिच्युड, प्रभु, श्री, सिम्रिकलगायतका कम्पनी सञ्चालनमा रहे पनि मुस्ताङ हेलिकप्टर मापदण्ड पूरा गर्न नसक्दा तीन वर्षदेखि बन्द छ । साना लगानी र थोरै हेलिकप्टर लिएर आएका कम्पनीहरू जुनसुकै बेला बन्द हुन सक्ने जोखिममा रहेको देखिन्छ ।
अनुमति लिनेको भीड, उडाउने कम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत लिने तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्ड पूरा गरी उडान अनुमति (एओसी) लिन नसक्ने कम्पनीको संख्या दर्जनौं छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा हेलि एयर नेपाल, सगरमाथा हेलि, गगनचुम्बी हेलि, डाँफे एयर लगायत आधा दर्जन कम्पनी प्रक्रियामा छन् । तर, धेरैजसो वायुसेवा दीर्घकालीन व्यावसायिक योजना र पर्याप्त आर्थिक स्रोत बिना नै लहडको भरमा आउने गरेकाले उडान सुरु नै नगरी वा सुरु गरेको केही समयमै बन्द हुने गरेका छन् ।
अन्तर्राष्ट्रिय उडानको अनुमति खोज्ने कम्पनीहरूले समेत प्राधिकरणको शर्त पूरा गर्न सकेका छैनन् । जहाज दुर्घटना वा प्राविधिक कारणले फ्लीट घट्दा त्यसको प्रतिस्थापन गर्न नसक्नु र कमजोर आर्थिक रणनीतिका कारण नेपालको हवाई क्षेत्रमा नयाँ कम्पनीहरू उदाउन नसकी अस्ताउने गरेको प्राधिकरणको निष्कर्ष छ । तर अलिकति गम्भीर भएर हवाई क्षेत्रमा लाग्ने हो भने सम्भावना राम्रो रहेको धेरैको भनाइ छ ।
