त्रिपुरेश्वरका घटनापछि प्रहरीको कार्यशैली र चालकको मानसिक स्वास्थ्यमाथि प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा छोटो समयको अन्तरालमा भएका दुई घटनाले प्रहरी–ट्राफिकको व्यवहार र सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक देखाएको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद धितालले सोमबार त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरिन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्।
उनले त्रिपुरेश्वरमै केही समयअघि गणेश नेपालीको ज्यान गएको घटनालाई पनि स्मरण गर्दै लगातार भएका यी घटनाबाट सम्बन्धित सबै पक्षले गम्भीर पाठ सिक्नुपर्ने बताइन्।
प्रहरीको व्यवहारबारे पुनर्विचार आवश्यक
धितालले त्रिपुरेश्वरका घटनाले उठाएको पहिलो प्रश्न प्रहरी तथा ट्राफिक प्रहरीको कार्यशैलीसँग सम्बन्धित रहेको बताइन्।
सुरक्षाकर्मीप्रति सम्मान रहेको उल्लेख गर्दै उनले सडकमा यात्रु र चालकसँग प्रहरीले गर्ने व्यवहार तथा त्यसका लागि दिइने प्रशिक्षणबारे पुनरावलोकन गर्नुपर्ने धारणा राखिन्।
उनका अनुसार प्रहरीलाई सडकमा यात्रु र चालकसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा दिइएको प्रशिक्षण र व्यवहारिक अभ्यासमा समस्या भए त्यसलाई सच्याउन आवश्यक छ।
चालकलाई आम्दानीको साधन मात्रै नबनाऔं
धितालले अर्को महत्वपूर्ण विषय सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्था रहेको बताइन्। चालकसँग एकैपटक ठूलो संख्यामा यात्रुको सुरक्षा जोडिने भएकाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई राज्य र व्यवसायी दुवैले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
उनले चालकको आत्मसम्मान, पारिश्रमिक, खानपान, सेवा–सुविधा, आराम र मानसिक स्वास्थ्यमा पर्याप्त ध्यान दिनुपर्ने बताइन्।
कम पारिश्रमिक, लामो समयसम्म काम गर्नुपर्ने बाध्यता र पर्याप्त आरामको अभावले चालकको अवस्था प्रभावित हुन सक्ने भन्दै उनले चालकले कति आम्दानी गरेर ल्यायो भन्ने विषयलाई मात्र प्राथमिकता दिने प्रवृत्तिमाथि पनि पुनर्विचार गर्नुपर्ने बताइन्।
चालकलाई मात्र दोष दिएर समाधान हुँदैन
सांसद धितालले यस्ता घटनाको जिम्मेवारी चालकमा मात्र थोपरेर समस्या समाधान नहुने बताइन्। सरकार, प्रहरी–ट्राफिक, यातायात व्यवसायी, चालक र उनीहरूका परिवार सबैले घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।
सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित र मानवीय बनाउन चालकको काम गर्ने वातावरणदेखि प्रहरीको व्यवहारसम्मका विषयमा समग्र समीक्षा आवश्यक रहेको उनले बताइन्।
त्रिपुरेश्वरका पछिल्ला घटनालाई आगामी दिनमा यस्ता दुर्घटना तथा अप्रिय घटना दोहोरिन नदिन नीतिगत र व्यवहारिक सुधारतर्फ ध्यान दिने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिइन्।
