त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु
काठमाडौं — त्रिपुरेश्वरमा आगलागी भएको बसका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आगलागीमा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको हो।
अस्पताल स्रोतका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे उपचारका लागि अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैंले बसमा आगो लगाएको देखिएको छ। आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिवानाको विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ।
घटनाको विस्तृत अनुसन्धानका लागि सम्बन्धित निकायले छानबिन समिति गठन गरिसकेको छ। समितिले घटनाको कारण, आगलागीको अवस्था तथा त्यसअघिका घटनाक्रमबारे थप अनुसन्धान गर्नेछ।
