साउदी वायुसेवालाई पोखरा र भैरहवा उडानको बाटो खुल्यो
काठमाडौं । नेपाल र साउदी अरबबीच भएको नयाँ द्विपक्षीय हवाई सेवा सम्झौताले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी वायुसेवा कम्पनीलाई उडान गर्न सक्ने आधार तयार भएको छ।
गत भदौ १५ गते दुई देशबीच हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार सम्झौतापछि पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल साउदी वायुसेवा कम्पनीका लागि पनि खुला भएका छन्।
‘हामीसँग पर्याप्त जहाज छैनन्, तर उहाँहरूसँग छन्,’ आचार्यले भने, ‘यी विमानस्थलमा साउदीका जहाजले उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गरेको छ।’
नेपाल र साउदीबीच हवाई सेवा सम्झौताको प्रारम्भिक समझदारी सन् १९९९ मै भएको थियो। त्यसअनुसार दुवै देशका वायुसेवा कम्पनीले सातामा ५ हजार ६ सय तथा वार्षिक २ लाख ९१ हजार २ सय सिट बराबर उडान गर्न पाउने व्यवस्था थियो।
नयाँ सम्झौताले दुई देशबीच हवाई सम्पर्क थप विस्तार गर्ने सरकारको अपेक्षा छ। यसबाट यात्रु तथा कार्गो हवाई सेवा विस्तारसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र व्यापार तथा लगानीका नयाँ अवसर सिर्जना हुने मन्त्रालयको भनाइ छ।
सम्झौताले दुवै देशका तोकिएका वायुसेवा कम्पनीलाई नियमित उडान सञ्चालनका लागि आवश्यक कानुनी तथा संस्थागत आधारसमेत उपलब्ध गराउनेछ।
सहसचिव आचार्यका अनुसार नेपाल र साउदीबीचको सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म विस्तार भएको छ। ठूलो संख्यामा नेपाली श्रमिक साउदी अरबमा कार्यरत रहेकाले दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क थप महत्त्वपूर्ण हुने उनको भनाइ छ।
विदेशी जहाज भित्र्याउने प्रयास
नेपालका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भए पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। नेपालसँग अन्तर्राष्ट्रिय उडान विस्तार गर्न पर्याप्त जहाज नभएकाले विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालबाट हाल अन्तर्राष्ट्रिय उडान गरिरहेका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससँग पनि उडान विस्तारका लागि पर्याप्त जहाज छैनन्। यस्तो अवस्थामा नयाँ मुलुकका वायुसेवा कम्पनीलाई नेपाली विमानस्थलमा उडानको अवसर दिन खोजिएको हो।
हाल साउदी अरबबाट भने कुनै पनि वायुसेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेको छैन। नेपालबाट हिमालय एयरलाइन्सले काठमाडौं–दम्माम र काठमाडौं–रियादमा नियमित उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले काठमाडौं–दम्माममा उडान गरिरहेको छ।
४२ देशसँग हवाई सम्झौता
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले हालसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ। सरकारले थप मुलुकसँग यस्ता सम्झौता विस्तार गर्ने नीति लिएको छ।
पछिल्ला वर्षमा नेपालले स्विट्जरल्यान्ड र रुवान्डासँग पनि हवाई सेवा सम्झौता गरेको थियो। स्विट्जरल्यान्डसँग सन् २०२४ र रुवान्डासँग सन् २०२३ मा सम्झौता भएको थियो।
