अस्ट्रेलियामा आप्रवासन नियम थप कडा, अधिकांश विद्यार्थीलाई परिवार लैजान रोक
सिड्नी । अस्ट्रेलियाले आप्रवासन प्रणालीमा थप कडाइ गर्ने भएको छ। भिसाको अवधि सकिएपछि पनि देशमा बसिरहने, अस्थायी भिसा परिवर्तन गर्दै बसाइ लम्ब्याउने र भिसा प्रणालीको दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारले नयाँ सुधार अघि सारेको हो।
अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा आप्रवासन सुधारसम्बन्धी योजना सार्वजनिक गर्दै आगामी वर्षसम्म शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन)लाई २ लाख २५ हजारमा सीमित गर्ने सरकारको लक्ष्य रहेको बताए। हाल यो संख्या करिब २ लाख ९२ हजार रहेको छ।
सरकारले आप्रवासनलाई निरुत्साहित गर्नेभन्दा देशको आर्थिक तथा श्रम बजारको आवश्यकताअनुसार थप लक्षित बनाउने नीति लिएको बर्कको भनाइ छ। उनका अनुसार आप्रवासन प्रणालीको दुरुपयोग भने स्वीकार्य हुने छैन।
नयाँ व्यवस्थाले ‘भिसा हपिङ’ माथि विशेष निगरानी बढाउनेछ। विद्यार्थी भिसालगायत अस्थायी भिसालाई पटक–पटक अर्को भिसामा परिवर्तन गरेर अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रवृत्तिलाई नियन्त्रण गर्ने सरकारको तयारी छ।
विद्यार्थीका परिवारमाथि पनि असर
नयाँ सुधारको महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय विद्यार्थीका डिपेन्डेन्ट तथा परिवारका सदस्यसँग सम्बन्धित छ। प्रस्तावित व्यवस्थाअनुसार अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा आफ्ना परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान नपाउने व्यवस्था गरिनेछ।
यद्यपि, नयाँ नियमले अस्ट्रेलियामा परिवारसहित बसिरहेका विद्यार्थीलाई तत्काल प्रभावित नगर्ने सरकारले स्पष्ट पारेको छ।
‘परिवार पहिले नै भिसामा जोडिएको छ र अस्ट्रेलियामा छ भने उनीहरूलाई छुट्याइने छैन,’ मन्त्री बर्कले भने।
यसले नयाँ विद्यार्थीका लागि परिवारसहित अस्ट्रेलिया जाने विकल्पलाई भने उल्लेख्य रूपमा सीमित गर्नेछ।
आवश्यक क्षेत्रमा दक्ष कामदारलाई प्राथमिकता
सरकारले आप्रवासन कार्यक्रमलाई श्रम बजारसँग जोड्दै स्वास्थ्य, निर्माण, शिक्षा, कानुन कार्यान्वयन, रक्षा तथा कृषि क्षेत्रमा आवश्यक सीप भएका कामदारलाई प्राथमिकता दिने जनाएको छ।
त्यसैगरी, आप्रवासन प्रणालीमा आधार नपुगेका आवेदनलाई जानाजान अघि बढाउन सहयोग गर्ने माइग्रेसन एजेन्टमाथि पनि कडा कारबाही गर्ने तयारी छ।
वर्किङ होलिडे भिसामा अस्ट्रेलिया आउने व्यक्तिले दोस्रो र तेस्रो वर्षको भिसा प्राप्त गर्न क्षेत्रीय क्षेत्रमा काम गर्नुपर्ने वर्तमान व्यवस्था पनि यथावत् रहनेछ।
महामारीपछि घट्दै आप्रवासन
अस्ट्रेलियाको शुद्ध वैदेशिक आप्रवासन कोभिड–१९ महामारीपछिको अवधिमा तीव्र रूपमा बढेको थियो। सन् २०२३ मा यो संख्या ५ लाख ५६ हजारसम्म पुगेको थियो।
पछिल्लो तथ्यांकअनुसार मार्चसम्मको १२ महिनामा शुद्ध वैदेशिक आप्रवासन २ लाख ९२ हजार १०० मा झरेको छ। यो ट्रेजरीले गरेको २ लाख ९४ हजारको अनुमानभन्दा पनि कम हो।
सरकारले पर्यटन भिसालाई लामो समय अस्ट्रेलियामा बस्ने माध्यमका रूपमा प्रयोग हुन नदिन सबै भिजिटर भिसामा ‘नो फर्दर स्टे’ सर्त लागू गर्ने योजना पनि अघि सारेको छ।
बर्कका अनुसार नयाँ सुधारको उद्देश्य अस्ट्रेलियाको आप्रवासन प्रणालीलाई आर्थिक अवस्था र श्रम बजारको वास्तविक आवश्यकतासँग अझ बढी जोड्नु हो।
यसअघि प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता एङ्गस टेलरबीच आप्रवासनसम्बन्धी थप कडा व्यवस्थाबारे छलफल भए पनि सहमति हुन सकेको थिएन। सरकारले प्रस्ताव गरेका अधिकांश सुधार विद्यमान कानुन तथा नियमनमै परिवर्तन गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ।
आप्रवासनसम्बन्धी नयाँ योजनालाई लिएर वन नेसनकी नेता पोलिन ह्यान्सनले भने सरकारले आफ्नो पार्टीको दबाबका कारण यस्तो नीति ल्याएको दाबी गरेकी छन्।
-एबीसी अस्ट्रेलिया र नाइन न्युजको सामग्रीमा आधारित
