असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, यात्रा गर्दा सतर्क रहन आग्रह
काठमाडौं— देशका विभिन्न क्षेत्रमा बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय प्रणाली अहिले बंगालको खाडीको मध्य भागमा केन्द्रित छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै पश्चिमदेखि उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा पर्ने देखिएको हो।
बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्ने पूर्वानुमान गरिएको छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी मधेस तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बाढी–पहिरोको जोखिम
लगातारको वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहनुका साथै ठूला तथा साना नदी, खोला र खोल्सामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ। नदी तथा जोखिमयुक्त क्षेत्रमा भइरहेका निर्माण कार्यमा समेत असर पर्न सक्ने जनाइएको छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक नभएसम्म टाढाको यात्रा नगर्न तथा विशेषगरी रातिको समयमा यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
महाशाखाले धानबाली भित्र्याउने समय भए कृषि विज्ञको सल्लाह लिएर आवश्यक तयारी गर्न पनि आग्रह गरेको छ।
मौसम प्रणालीका कारण हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने अन्य व्यक्तिलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
महाशाखाले विकसित मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र अवस्था अनुसार थप सूचना तथा अद्यावधिक सार्वजनिक गर्दै जाने जनाएको छ।
