पार्टी सभापतिमा उम्मेदवारी दिन्छुः गगन थापा
टुरिजमफेस
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् ।
नेपाल प्रेस युनियन मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताएका हुन् ।
महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गरे ।
उनले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राखे ।
‘हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ । अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौं। सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।
महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार बन्ने र नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताए । उनले आफू आगामी निर्वाचनमा पनि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने समेत बताए ।
