दीपककुमार साह उद्योगमन्त्री
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ का सांसद दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने गरी प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारीका लागि प्रधानमन्त्री शाहले साहको नाम अघि सारेका हुन्। उनको नाम राष्ट्रपतिको कार्यालयमा पठाइसकिएको बताइएको छ।
साह केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै राजनीतिक दल गठन गरेका थिए।
साह हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका छन्। मन्त्रिपरिषद्को बैठक चलिरहेका बेला उनी प्रधानमन्त्री कार्यालयकै एउटा कोठामा बसेर बैठकको निर्णय पर्खिरहेका छन्।
राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया पूरा भएपछि साहले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
