छ वर्षपछि भारत–चीनबीच सिधा हवाई सेवा
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा पुनः सञ्चालन हुने भएको छ। चाइना साउदर्न एयरलाइन्सले सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ–नयाँदिल्ली सिधा उडान सुरु गर्ने घोषणा गरेको छ।
चीनका राष्ट्रपति सी चिनफिङ भारतमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुग्न लागेकै बेला चिनियाँ विमान कम्पनीले भारतसँगको हवाई सम्पर्क पुनःस्थापित गर्ने घोषणा गरेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार चाइना साउदर्नले शनिबार ग्वाङ्झाउ र नयाँदिल्लीबीच नियमित उडान सुरु गर्ने जानकारी दिएको हो। कम्पनीका अनुसार यो सेवा सञ्चालनमा आएपछि दक्षिण एसियामा उसका साप्ताहिक उडानको संख्या १०० भन्दा बढी पुग्नेछ।
एयरलाइन्सले दक्षिण एसियाका आठवटा रुटमा दुईतर्फी उडान सञ्चालन गर्ने जनाएको छ।
महामारीपछि रोकिएको थियो उडान
भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा सन् २०२० मा कोरोना महामारी सुरु भएपछि स्थगित भएको थियो। महामारीको अवस्था सामान्य बन्दै गएपछि पनि दुई देशबीचको सम्बन्धमा आएको तनावका कारण नियमित हवाई सम्पर्क तत्काल पुनःस्थापित हुन सकेन।
विशेषगरी पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनका सैनिकबीच लामो समयसम्म कायम रहेको तनावले दुई देशबीचको सम्बन्ध प्रभावित भएको थियो। त्यसको असर हवाई तथा अन्य प्रत्यक्ष सम्पर्कमा समेत परेको थियो।
ग्वाङ्झाउ–दिल्ली उडान पुनः सुरु गर्ने निर्णयलाई भने दुई देशबीचको जनस्तरीय तथा व्यावसायिक सम्पर्क पुनः बढाउने संकेतका रूपमा हेरिएको छ।
ब्रिक्स सम्मेलनकै बीच नयाँ संकेत
भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदै गर्दा भारत र चीनबीच हवाई सेवा पुनः सुरु गर्ने घोषणा भएको हो।
सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुँदैछन्। तीनै नेता करिब एक दशकपछि एउटै ब्रिक्स सम्मेलनमा एकसाथ उपस्थित हुन लागेका हुन्।
यसअघि उनीहरू सन् २०१६ मा भारतको गोवामा भएको ब्रिक्स शिखर सम्मेलनमा एकै ठाउँमा सहभागी भएका थिए।
सी आज भारत पुग्ने कार्यक्रम छ भने रुसी राष्ट्रपति पुटिन यसअघि नै नयाँदिल्ली पुगिसकेका छन्।
भारत–चीनबीचको प्रत्यक्ष उडान पुनः सञ्चालनको घोषणा र शीर्ष नेताहरूको भेटलाई दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्धमा संवाद र सम्पर्क विस्तारतर्फको सम्भावित कदमका रूपमा समेत हेरिएको छ।
