रोहित पौडेलसहित तीन खेलाडीलाई आइसिसीको जरिवाना
काठमाडौं — एसीसी पुरुष प्रिमियर कपको फाइनलका क्रममा आइसिसीको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका कप्तान रोहित पौडेलसहित तीन खेलाडी कारबाहीमा परेका छन्।
आइसिसीले नेपालका रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (युएई) का अदीब उस्मानी र खुजैमा तनवीरलाई लेभल–१ को आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै जरिवाना गरेको हो।
क्वालालम्पुरमा भएको फाइनलका क्रममा भएको दुई छुट्टाछुट्टै घटनामा तीनै खेलाडीमाथि कारबाही गरिएको हो।
रोहित र अदीबलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। उनीहरूले अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन पालना नगरेको भन्दै आइसिसी आचारसंहिताको धारा २.४ उल्लंघन गरेको ठहर भएको छ।
नेपालको इनिङ्सको ३१औँ ओभरमा रोहित र अदीबबीच भनाभन भएको थियो। विवादको अवस्था नियन्त्रणमा लिन खोजेका अम्पायरहरूको निर्देशनसमेत दुवै खेलाडीले पालना नगरेपछि उनीहरूमाथि कारबाही गरिएको हो।
युएईका खुजैमा भने अर्को घटनाका कारण कारबाहीमा परेका हुन्। उनलाई म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ।
युएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि खुजैमाले ब्याटले स्टम्पमा प्रहार गरेका थिए। आइसिसीले उक्त गतिविधिलाई आचारसंहिताको धारा २.२ अन्तर्गत क्रिकेट सामग्री, पोसाक वा मैदानको संरचनाको दुरुपयोगका रूपमा लिएको छ।
तीनै खेलाडीको रेकर्डमा डिमेरिट अंक
जरिवानासँगै रोहित, अदीब र खुजैमा तीनै जनाको अनुशासन रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ।
पछिल्लो २४ महिनामा तीनै खेलाडीले पहिलोपटक आचारसंहिता उल्लंघन गरेकाले थप औपचारिक सुनुवाइ आवश्यक नपरेको आइसिसीले जनाएको छ।
तीनै खेलाडीले आफ्नो गल्ती स्वीकार गरेका थिए। त्यसपछि अमिरात आइसिसी इन्टरनेसनल प्यानल अफ म्याच रेफ्रीका अलि नक्वीले प्रस्ताव गरेको सजाय उनीहरूले स्वीकार गरेपछि सुनुवाइ नगरी कारबाही टुंग्याइएको हो।
मैदानका अम्पायर कालिदास विश्वनाथन र तबारुक दार तथा रिजर्भ अम्पायर विनोद बाबुले घटनाबारे आरोप दर्ता गरेका थिए।
लेभल–१ उल्लंघनमा कस्तो कारबाही हुन्छ?
आइसिसीको लेभल–१ आचारसंहिता उल्लंघनमा आधिकारिक चेतावनीदेखि म्याच फीको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई डिमेरिट अंकसम्मको कारबाही हुन सक्छ।
खेलाडीको अनुशासन रेकर्डमा डिमेरिट अंक २४ महिनासम्म कायम रहन्छ। यो अवधिमा चार वा त्यसभन्दा बढी डिमेरिट अंक पुगेमा ती अंक निलम्बन अंकमा रूपान्तरण हुन्छन् र खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्छ।
दुई निलम्बन अंक बराबर एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी–२० खेलको प्रतिबन्ध हुने व्यवस्था छ। २४ महिनाको अवधि पूरा भएपछि डिमेरिट अंक स्वतः अनुशासन रेकर्डबाट हट्ने व्यवस्था रहेको छ।
