कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब अस्करको यात्रामा
काठमाडौं । कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार जितेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ अस्करको दौडमा प्रवेश गरेको छ।
अविनाश विक्रम शाह निर्देशित यो फिल्म सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने फिल्म बनेको हो।
नेपालबाट अस्करका लागि यस वर्ष दुई फिल्मले आवेदन दिएका थिए। छनोट समितिले ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’मध्ये ‘तिनीहरू’लाई नेपालको आधिकारिक प्रतिनिधि फिल्मका रूपमा छनोट गरेको हो।
समितिका अनुसार दुवै फिल्मको मूल्यांकन गर्दा प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक गहिराइ र कलात्मक शिल्पलाई मुख्य आधार बनाइएको थियो।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत फिल्म छनोट भएको जानकारी सार्वजनिक गरिएको हो।
अविनाश विक्रम शाहको निर्देशन रहेको फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
कान्सबाट अस्करसम्म
‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ले अस्करको यात्रा तय गर्नुअघि नै अन्तर्राष्ट्रिय फिल्म वृत्तमा महत्वपूर्ण पहिचान बनाइसकेको छ। फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनुका साथै त्यही विधामा जुरी पुरस्कार जित्न सफल भएको थियो।
कान्समा पुरस्कार जित्ने यो पहिलो नेपाली फिल्मसमेत हो।
कान्सको उपलब्धिपछि नेपालमा प्रदर्शनमा आएको फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ।
अब नेपालको प्रतिनिधि बनेसँगै फिल्मले अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका प्रतिनिधि फिल्मसँग प्रतिस्पर्धा गर्नेछ।
