एउटा जेनजी समूहको नेतृत्व गरेका मिराज ढुंगानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै गरे आन्दोलनको घोषणा
टुरिजमफेस
काठमाडौं । एउटा जेनजी समूहको नेतृत्व गरेका मिराज ढुंगानाले सर्वदलीय सरकारको माग गरेका छन् । सर्वदलीय सरकार गठन नभए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले युवा आन्दोलनको भावनालाई धोका दिएको दावी गरेका छन् ।
ढुंगाना समूहले तत्काल कार्यान्वयनका लागि सरकारलाई विभिन्न १० बुँदे माग समेत राखेको छ । उनका अनुसार नयाँ आन्दोलन पुस ७ गतेदेखि सुरु हुँदैछ । उनले वर्तमान सरकार बनेको एक सय दिन पूरा हुँदा पनि युवाको मर्म र भावना देखिने गरी कुनै पनि काम नभएको दावी गरे । उनले अघि सारेका मागहरूमा संवैधानिक सुधार र संविधान पुनर्लेखन, न्यायिक सुधार, आन्दोलनकारीको रिहाइ र न्याय, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिको कार्यान्वयन, मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने लगायत छन् ।
