साढे एक लाख म्यादी प्रहरी भर्नाको तयारी हुँदै
निर्वाचन आयोगको कार्यालय
टुरिजमफेस
काठमाडौं । आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब साढे एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी भइरहेको छ । जसका लागि बजेट विनियोजन गर्न गृहले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको छ ।
म्यादी प्रहरीबाहेक निर्वाचनका लागि नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति तैनाथ गर्ने तयारी छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अपुग करिब साढे एक लाख म्यादी प्रहरी नेपाल प्रहरीमार्फत भर्ना गरी निर्वाचनमा खटाइनेछ ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । ४० दिनको कार्यअवधि तोकेर म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाइएको थियो ।
यसरी भर्ना हुनेले प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार मासिक पारिश्रमिकसहित पोसाक, यातायात, रासन, खाजा खर्चलगायतमा सुविधा पाउनेछन् । गृह मन्त्रालयका प्रवक्ता काफ्लेले निर्वाचनमा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी करिब ३ लाख ३३ हजार सुरक्षाकर्मी खटाउने गरी सुरक्षा कार्ययोजना बनेको र सोही अनुसार अर्थ मन्त्रालयसँग बजेट माग गरिएको बताए ।
निर्वाचन आयोगको कार्यालय
