नातावादको आरोपपछि कुलमानको स्वीकारोक्तिः ‘भान्जा–ससुराको नाम राख्नु गल्ती भयो, सच्याउँछु’
टुरिजमफेस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सूचीलाई लिएर चर्किएको विवादपछि ऊर्जामन्त्री कुलमान घिसिङ दबाबमा परेका छन् । पार्टी बैठकमै नातावादलाई प्रश्रय दिएको आरोप लागेपछि उनले भान्जा र ससुराको नाम सूचीबाट फिर्ता लिने प्रतिबद्धता जनाएका छन् ।
आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा घिसिङले समानुपातिक सूचीमा नातेदारका नाम समावेश गर्नु आफ्नो भूल भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएका हुन् । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार उनले सूची संशोधनका लागि रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्ने जनाएका छन् ।
उज्यालो नेपाल पार्टी रास्वपाबीच सातबुँदे सहमतिपछि पार्टी विलय भएको थियो । सोही सहमतिपछि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा घिसिङले भान्जा राम लामा र ससुरा धर्मलाल तामाङको नाम राखेको विषय सार्वजनिक भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो । ती दुवै उज्यालो नेपालका सक्रिय सदस्यसमेत नरहेको केन्द्रीय सदस्यहरूको दाबी छ ।
बैठकमा बोल्ने अधिकांश नेताले ‘योग्यता र पारदर्शिता’ को राजनीति गर्ने व्यक्तिबाटै यस्तो कदम आउनु नैतिक रूपमा अस्वीकार्य भएको टिप्पणी गरेका थिए । १६ जना केन्द्रीय सदस्यले सूची सच्याउन एक स्वरले दबाब दिएका थिए । एक केन्द्रीय सदस्यका अनुसार घिसिङले नातेदारका नाम हटाएर तल परेका योग्य कार्यकर्तालाई माथि ल्याउने, सहमति नजुटे सम्पूर्ण सूची नै फिर्ता लिनेसम्मको विकल्प राखेका छन् ।
