टीआईएमा कमाइको चाप, गाउँका विमानस्थल ओझेलमा
काठमाडौं । नेपालका विमानस्थलहरूको आम्दानी तथ्यांकले हवाई पूर्वाधारमा गहिरो असमानता उजागर गरेको छ । एकातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) एक वर्षमै अर्बौँ रुपैयाँ आम्दानी गर्दै देशको मुख्य प्रवेशद्वारको भूमिका निर्वाह गरिरहेको छ भने अर्कातिर केही ग्रामीण विमानस्थलको आम्दानी सय–दुई सय रुपैयाँमै सीमित देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै १२ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यात्रु चापको हिसाबले पनि टीआईए नै अगाडि छ । सो अवधिमा यस विमानस्थलबाट ३७ लाख १८ हजार आन्तरिक तथा ४० लाख ९८ हजार अन्तर्राष्ट्रिय यात्रुले सेवा लिएका छन् ।
टीआईएपछि धेरै आम्दानी गर्ने विमानस्थलको सूचीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो स्थानमा छ । पोखराले एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको क्यानको प्रतिवेदनमा उल्लेख छ । यहाँबाट करिब ७ लाख ९८ हजार यात्रुले हवाई सेवा उपयोग गरेका छन् ।
तेस्रो स्थानमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलबाट ६ लाख ७५ हजार आन्तरिक र १३ हजार अन्तर्राष्ट्रिय यात्रुले उडान सेवा लिएका छन् ।
१४ विमानस्थलले छुन सके करोडको सीमा
क्यानका अनुसार आव २०८१/८२ मा १४ वटा विमानस्थलले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । विराटनगर विमानस्थलले १९ करोड २० लाख रुपैयाँ कमाइ गरेको छ । नेपालगञ्जले १४ करोड ६० लाख, चन्द्रगढीले ८ करोड ९० लाख, धनगढीले ७ करोड ३४ लाख, जनकपुरले ७ करोड १५ लाख र भरतपुरले ६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
यस्तै, लुक्लाले ६ करोड २१ लाख, सिमराले ५ करोड ३६ लाख, सुर्खेतले ३ करोड ५५ लाख, राजविराजले १ करोड ५९ लाख र रामेछापले १ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
ग्रामीण विमानस्थलको कमजोर अवस्था
अर्कोतर्फ, १८ वटा विमानस्थलले वर्षभरिमा लाख रुपैयाँको हाराहारीमा मात्रै आम्दानी गरेका छन् । जोमसोम विमानस्थलले ८८ लाख २० हजार रुपैयाँ आम्दानी गर्दा सिमकोटले ५१ लाख ७३ हजार, तुम्लिङटारले ५० लाख, फाप्लुले ४९ लाख ८ हजार र जुम्लाले २४ लाख ४३ हजार रुपैयाँ कमाएका छन् ।
रारा, बाजुरा, डोल्पा, दाङ, सल्ले, भोजपुर, ताप्लेजुङ, साँफेबगर, टिकापुर, खानीडाँडा, रुम्जाटार, थामखर्क र रेसुंगा जस्ता विमानस्थलहरूको आम्दानी पनि लाख रुपैयाँमै सीमित छ ।
सबैभन्दा न्यून आम्दानी गर्ने विमानस्थलमध्ये खोटाङको लामिडाँडा विमानस्थलले वर्षभरिमा जम्मा ७२८ रुपैयाँ मात्रै उठाएको तथ्यांकले ग्रामीण हवाई सेवाको दयनीय अवस्था झल्काउँछ ।
विशेषज्ञहरूका अनुसार यात्रु संख्या, नियमित उडान, पूर्वाधार र व्यापारिक गतिविधिको अभावले धेरै विमानस्थल नामका लागि मात्र सञ्चालनमा रहेका छन् । यसले हवाई क्षेत्रको सन्तुलित विकासबारे गम्भीर प्रश्न खडा गरेको छ ।
