इप्पानको नयाँ नेतृत्व चयन, अधिकांश पदमा निर्विरोध सहमति
काठमाडौं, जेठ ३० – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयन भएको छ। संस्थाको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार मोहनकुमार डाँगीले अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनपछि निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो। यसपटक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन्।
महासचिवको जिम्मेवारी टेकनाथ आचार्य (टी.एन. आचार्य) ले पाएका छन् भने उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन्।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई तथा सुमनकुमारी जोशी चयन भएका छन्।
निर्वाचनमा प्रतिस्पर्धा भएको एकमात्र पद कोषाध्यक्षमा शंकर बस्याल विजयी भएका छन्। उनले २६७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
