सौराहामा लक्जरी पर्यटनको नयाँ अध्याय, रोयल टुलिपले खोल्यो पाँचतारे ढोका
चितवन । धेरै खर्च गर्न सक्ने पर्यटकलाई लक्षित गर्दै चितवनको सौराहामा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे रिसोर्ट सञ्चालनमा आएको छ । फ्रेन्च होटल चेन लुभ्र होटल ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड रोयल टुलिप चितवन ले औपचारिक रूपमा सेवा सुरु गरेको हो ।
केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा स्थापना भएको यो रिसोर्टले चितवनलाई ‘हाई इन्ड टुरिजम’ को नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । वन्यजन्तु पर्यटनले चिनिएको सौराहामा अब लक्जरी, आराम र विशेष अनुभव खोज्ने पर्यटकका लागि नयाँ विकल्प थपिएको छ ।
१ अर्ब ७५ करोडको लगानी, तीन विगाहामा फैलिएको रिसोर्ट
तीन विगाहा क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा २५ वटा भवनभित्र ६५ वटा कोठा सञ्चालनमा छन् । रिसोर्ट निर्माण र सञ्चालनका लागि कुल १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरिएको केटीएम हस्पिटालिटी ग्रुपका अध्यक्ष रामेश्वर साहले जानकारी दिए ।
उनका अनुसार जग्गा खरिदमा २२ करोड, संरचना निर्माणमा ७० करोड, फर्निसिङमा १९ करोड तथा अन्य पूर्वाधार र सेवा विकासमा ठूलो रकम खर्च भएको छ । लुभ्र होटल ग्रुपकै व्यवस्थापनमा रिसोर्ट सञ्चालन भइरहेको छ ।
स्थानीय उत्पादन र नेपाली जनशक्तिमा जोड
रिसोर्टले सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गरेको छ । फर्निचरदेखि सजावट सामग्रीसम्म स्थानीय स्रोतलाई प्राथमिकता दिइएको छ भने सीमित वरिष्ठ तहबाहेक अधिकांश कर्मचारी नेपाली नै छन् । हाल होटलमा ९४ जना कर्मचारी कार्यरत छन् र प्रत्येक विभागमा इन्टर्नमार्फत नयाँ जनशक्ति उत्पादन गर्ने अभ्यास भइरहेको छ ।
आगामी दिनमा होटल परिसरभित्र क्यासिनो सञ्चालनको तयारीसमेत भइरहेको छ, जसले थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सुविधामा विलासिताको सम्पूर्ण प्याकेज
रोयल टुलिप चितवनले लक्जरी पर्यटनका लागि आवश्यक सबै सुविधा उपलब्ध गराएको छ । रिसोर्टभित्र
-
वाटर भिल्ला
-
१.८ किलोमिटर लामो आन्तरिक पदमार्ग
-
हेलिप्याड
-
स्वीमिङ पुल
-
जिम र फिटनेस सेन्टर
-
हेल्थ क्लब
-
बालबालिकाका लागि खेल क्षेत्र
-
५०० जनासम्म अट्ने विवाह तथा कार्यक्रम स्थल
जस्ता संरचना रहेका छन् ।
सेमिनार र सम्मेलनका लागि ५०, १२० र ५०० जनासम्म अट्ने छुट्टाछुट्टै हल निर्माण गरिएका छन् । यी संरचनाहरूलाई ‘ध्यान सदन’, ‘ज्ञान सदन’ र ‘भेदा सदन’ जस्ता नेपाली नाम दिइनुले रिसोर्टमा मौलिकता थपिएको छ ।
१७ हजारदेखि एक लाखसम्मको कोठा दर
रिसोर्टमा सुपेरियर, डिलक्स, प्रिमियम, पूल भिल्ला, वाटर भिल्ला र मचान हाउस क्वीन सुइट गरी विभिन्न श्रेणीका कोठा उपलब्ध छन् ।
-
सुपेरियर कोठाको शुल्क प्रतिरात १७ हजार रुपैयाँ
-
पानीमाथि बनेका वाटर भिल्लामा ७५ हजार रुपैयाँ
-
तीन तले मचान हाउसको शीर्ष तलामा बस्न एक लाख रुपैयाँ सम्म शुल्क तोकिएको छ ।
यी कोठा जोडी, परिवार, हनिमुन मनाउने तथा लामो बिदा बिताउन चाहने पर्यटकलाई लक्षित गरी डिजाइन गरिएको छ ।
वातावरणमैत्री अभ्यास र दिगोपन
रिसोर्टमा प्लास्टिक प्रयोग न्यूनतम गरिएको छ । आफ्नै बोटलिङ प्लान्टमार्फत दैनिक करिब ५ सय बोतल पिउने पानी उत्पादन गरिन्छ, जसमा सिसाका बोतल प्रयोग गरिन्छ । वन्यजन्तु संरक्षण, वातावरणमैत्री प्रविधि र स्थानीय समुदायको प्रवर्द्धनलाई रिसोर्टले प्राथमिकतामा राखेको जनाएको छ ।
सौराहालाई ‘हाई इन्ड टुरिजम’ मा उकास्ने अपेक्षा
केटीएम हस्पिटालिटी ग्रुप सार्वजनिक कम्पनीसमेत हो । सुरक्षा सेवा क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका व्यवसायी रामेश्वर साहको नेतृत्वमा सञ्चालित यो परियोजनाले नेपालमा गुणस्तरीय र खर्चिला पर्यटक भित्र्याउन योगदान दिने विश्वास गरिएको छ ।
वन्यजन्तु पर्यटनमा सीमित सौराहालाई अब लक्जरी पर्यटनको केन्द्र बनाउने दिशामा रोयल टुलिप चितवनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
