नेपाली होटल उद्योगमा विदेशी ब्रान्डको दबदबा
काठमाडौं । नेपालको होटल तथा आतिथ्यता उद्योग तीव्र गतिमा अन्तर्राष्ट्रियकरण हुँदै गएको छ। हाल नेपालमा ११ वटा अन्तर्राष्ट्रिय होटल चेनले ३७ वटा होटलको व्यवस्थापन सम्हालिरहेका छन् भने केही नेपाली होटल समूह विदेशी ब्रान्डसँग सहकार्य वा टाइअपमार्फत विश्व बजारमा जोडिँदै छन्। यसमध्ये सोल्टी होटल समूह भने उल्टै विदेशी होटलको व्यवस्थापन सम्हाल्ने पहिलो नेपाली ब्रान्ड बनेको छ।
पर्यटक आगमन विस्तारै बढ्दै जानु, नेपालप्रति अन्तर्राष्ट्रिय ब्रान्डको विश्वास बढ्नु र दीर्घकालीन लगानीको सम्भावनाले पछिल्ला वर्षहरूमा विदेशी चेन होटलको उपस्थितिलाई तीव्र बनाएको हो।
कोभिडपछि पुनः सक्रिय लगानी
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसँगै होटल क्षेत्रमा ठूला लगानीका योजना अघि बढेका थिए। तर, कोभिड–१९ महामारीले ती योजनामा गम्भीर अवरोध ल्यायो। पाँच वर्षअघि नै सञ्चालनमा आउने भनिएका होटल तथा रिसोर्ट अहिले मात्र विस्तारै सञ्चालनमा आउँदै छन्।
कतिपय परियोजना अझै निर्माणाधीन छन् भने केही व्यवसायीले स्थगित योजना पुनः सुरु गरेका छन्। लगानीको वातावरण स्थिर बन्दै जाँदा विदेशी ब्रान्डको नेपालप्रति आकर्षण पुनः बढेको व्यवसायीहरू बताउँछन्।
म्यारियोटको आक्रामक विस्तार
नेपालमा सबैभन्दा आक्रामक देखिएको अन्तर्राष्ट्रिय चेन म्यारियोट हो। हाल म्यारियोटको व्यवस्थापनमा पाँच वटा होटल सञ्चालनमा छन् भने तीन वटा निर्माणाधीन अवस्थामा छन्। भक्तपुर, ठमेल र लुम्बिनी क्षेत्रमा म्यारियोट ब्रान्डका नयाँ होटल थपिँदै छन्।
म्यारियोटसँग ‘अटोग्राफ कलेक्सन’ अन्तर्गत लोयल्टी टाइअप गरेको सोल्टी होटलले भने आफ्नै व्यवस्थापन र ब्रान्डमा अघि बढ्ने नीति लिएको जनाएको छ। सोल्टीका अनुसार ब्रान्ड टाइअपले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण र मार्केटिङमा सहयोग पुर्याए पनि व्यवस्थापन भने पूर्ण रूपमा नेपाली टोलीले नै गरिरहेको छ।
‘ब्रान्ड भनेको विश्वास हो’
चारवटा म्यारियोट होटल भित्र्याएका एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार ब्रान्डेड होटलले अकुपेन्सी धान्ने मात्र होइन, गन्तव्यको पहिचान पनि बनाउँछ।
“होटलमा वार्षिक अकुपेन्सी ५० प्रतिशत नपुगे पनि ब्रान्डले कम्तीमा ३० प्रतिशत आफैँ धानिदिन्छ,” उनी भन्छन्, “पर्यटकले गुणस्तर, सेवा र नाम खोज्छन्, त्यसैले ब्रान्डप्रतिको विश्वास बढेको हो।”
भारतीय र युरोपेली चेनको पनि बलियो उपस्थिति
नेपालमा भारतीय चेन होटलहरूको उपस्थिति पनि उल्लेखनीय छ। आइएचजी (होलिडे इन), ताज, भिभान्ता, रोयल अर्किडजस्ता ब्रान्डले काठमाडौं, पोखरा, चितवन र तराईका सहरहरूमा होटल सञ्चालन गरिरहेका छन्। साङ्ग्रिला ग्रुपमार्फत पोखरा, बेगनास ताल र चितवनमा थप तीन होटल निर्माणाधीन छन्।
युरोपेली होटल समूह लुभ्र अन्तर्गतका रोयल टुलिप, गोल्डेन टुलिप र सरोवर ब्रान्डले पनि पाँचतारे रिसोर्टदेखि सहर केन्द्रित होटलसम्म विस्तार गरिरहेका छन्।
सोल्टीको फरक यात्रा : नेपालबाट जर्मनीसम्म
६ दशकभन्दा बढी इतिहास बोकेको सोल्टी होटल समूहले सन् २०२५ देखि जर्मनीका दुई होटलको व्यवस्थापन सम्हाल्दै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको छ। फ्र्याङ्कफर्टका दुई होटल नेपाली व्यवस्थापनमा सञ्चालन हुनु नेपालका लागि नयाँ उपलब्धि मानिएको छ।
नेपालमै पनि सोल्टीले काठमाडौं, पोखरा, नगरकोट, चितवन, भैरहवा, इटहरी, नेपालगन्जलगायत क्षेत्रमा होटल सञ्चालन गर्दै आफ्नो नेटवर्क विस्तार गरिरहेको छ। आगामी दिनमा होटल संख्या १५ पुर्याउने लक्ष्य लिएको सोल्टीले जनाएको छ।
ओयो असफल, शेराटन अझै पर्खाइमै
विदेशी ब्रान्ड सबै सफल भने छैनन्। भारतीय बजेट होटल ब्रान्ड ‘ओयो’ नेपालमा नकारात्मक छविका कारण प्रायः विस्थापित भएको छ। एक समय ४ सयभन्दा बढी होटलमा फैलिएको ओयो अहिले सीमित स्थानमा मात्रै देखिन्छ।
यता, १२ वर्षअघि शिलान्यास भएको कान्तिपथस्थित पाँचतारे शेराटन होटल भने अझै पूर्ण सञ्चालनमा आउन सकेको छैन। निर्माण कम्पनीले आगामी ६ महिनाभित्र होटल सञ्चालनमा ल्याउने दाबी गरेको छ।
पर्यटन विकासको सूचक बन्दै ब्रान्डेड होटल
होटल संघ नेपालका पदाधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति गन्तव्यप्रतिको विश्वास र पर्यटन विकासको सूचक हो। पर्यटकले आफू जाने देशमा चिनिएका होटल खोज्ने भएकाले ब्रान्डेड होटल विस्तार हुनु सकारात्मक पक्ष मानिन्छ।
तर, व्यवसायीहरू भन्छन्—विदेशी चेन सहरमै सीमित नहोस्, प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न सरकारले पूर्वाधार, विमानस्थल र नीतिगत सहजीकरण गर्नुपर्छ।
नेपालको होटल उद्योग अहिले स्थानीय अनुभव र अन्तर्राष्ट्रिय ब्रान्डको संगमतर्फ अघि बढिरहेको छ—जहाँ केही विदेशी ब्रान्ड नेपाल भित्रिँदै छन् भने सोल्टीजस्ता नेपाली ब्रान्ड विश्व बजारतर्फ निस्कँदै छन्।
