इतिहास, हिमाल र शान्तिको संगम बनेको दुगुनागढी
चौतारा । नेपाल–चीन सीमाक्षेत्र नजिकै अवस्थित ऐतिहासिक दुगुनागढी पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। भोटेकोसी गाउँपालिका–३ अन्तर्गत लिस्तिकोटको यार्मासिङ गाउँमा फैलिएको यो युद्धकिल्ला अहिले इतिहास खोज्ने, प्रकृति मन पराउने र शान्त वातावरण चाहने पर्यटकका लागि उपयुक्त गन्तव्यका रूपमा उभिन थालेको छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको दुगुनागढीलाई नेपाली सेनाको नेतृत्वमा मौलिक स्वरूपमै पुनर्निर्माण गरिएपछि यहाँको चहलपहल उल्लेखनीय रूपमा बढेको हो। करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको र समुद्री सतहबाट करिब २ हजार २०० मिटर उचाइमा रहेको यो किल्लाबाट देखिने हिमाली दृश्यले पर्यटकलाई मोहित बनाउँछ।
काठमाडौंलगायत विभिन्न स्थानबाट यहाँ पुग्ने आन्तरिक पर्यटक अमृतमान श्रेष्ठका अनुसार दुगुनागढी केवल घुमफिरको ठाउँ मात्र होइन, इतिहास बुझ्ने खुला संग्रहालयजस्तै हो। “यहाँ आएपछि पुरानो समयको युद्ध रणनीति, गाउँले जीवनशैली र प्राकृतिक सुन्दरता एकैपटक अनुभूति गर्न पाइन्छ,” उनी भन्छन्।
स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार विसं १९१२ सालमा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको हो। नेपाल र भोट (तिब्बत) बीच तनाव चर्किएको समयमा यो किल्ला सैनिक रणनीतिक केन्द्रका रूपमा प्रयोग गरिएको थियो। शिलालेखअनुसार यही गढी प्रयोग गरेर नेपालले भोटसँग भएका युद्धमा सफलता हासिल गरेको इतिहास छ।
दुगुनागढी परिसरमा देखिने जङ्गबहादुर राणाको पाइलाको निशानले आज पनि त्यो समयको कथा सुनाइरहेझैँ लाग्ने पर्यटक सरस्वती श्रेष्ठ बताउँछिन्। “इतिहास किताबमा मात्रै होइन, आँखै अगाडि देख्न पाउँदा फरक अनुभूति हुन्छ,” उनको भनाइ छ।
भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाका अनुसार दुगुनागढी प्राचीन सभ्यता, स्थानीय संस्कृति र पहिचानको प्रतिविम्ब हो। चारैतिर हिमालले घेरिएको यो क्षेत्रलाई इतिहास र पर्यटन दुवै झल्किने गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
इतिहासप्रति रुचि राख्नेहरू मात्र होइन, साहसिक खेल र पदयात्रामा चासो राख्नेहरू पनि यहाँ आकर्षित भइरहेका छन्। नेपाली सेनाले सैनिक इतिहासको संरक्षण र प्रवर्द्धनका लागि विगत पाँच वर्षदेखि यहाँ माउन्टेन ट्रेल रेस आयोजना गर्दै आएको छ, जसले दुगुनागढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुर्याएको छ।
एकपटक पुगेकाहरू पुनः परिवार र साथीभाइ लिएर फर्किने गरेको यो ऐतिहासिक किल्ला अब सिन्धुपाल्चोकको मात्र होइन, समग्र नेपालको गौरवपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
