हिमाली क्षेत्रमा नवीकणीय ऊर्जा प्रविधिको विस्तारमा जोड
काठमाडौं । देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधिलगायत घरभित्र र बाहिरको वातावरणमा परेको प्रभावलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) र प्राक्टिकल एक्सनको पहलमा कार्यान्वयनमा ल्याउन लागिएको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजनाको शुभारम्भका अवसरमा सहभागीहरूले नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।
उच्च हिमाली क्षेत्रमा बाह्रैमास जस्तो चिसो हुने हुँदा खाना पकाउन र घर तताउन दाउराको बढी खपत गर्नुपर्ने भन्दै यसले घरभित्र र बाहिरको वायु प्रदूषण बढाउनुका साथै हिमालमा ‘ब्ल्याक कार्बन’को मात्रा बढ्ने बताइएको छ । सोही कारणले हिउँ पग्लिने समस्या बढ्दै गएको सन्दर्भमा यस समस्यालाई न्यूनीकरण गर्न विभिन्न नवीकरणीय ऊर्जा प्रविधिलाई उपयोगमा ल्याउन सकिने सहभागीले बताएका छन् ।
मुस्ताङको जोमसोम गाउँपालिकाको मार्फा गाउँका ६५ घरधुरी र विभिन्न पाँच वटा सामुदायिक संस्थामा नमूनाका रूपमा परियोजना कार्यान्वयनमा ल्याउन लागिएको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्र्टसोले घरभित्रको वायु प्रदूषणले जनस्वास्थ्यमा प्रभाव पार्ने र जलवायु परिवर्तनको समस्या बढाउने भएकाले हिमाली क्षेत्रको वातावरणमा पर्ने नकारात्मक असर कम गर्न स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न कार्यक्रममार्फत हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै आएको उल्लेख गर्दै सरकारले स्वीकृत गरेको तापीय ऊर्जा मार्गचित्रको कार्यान्वयनबाट यस क्षेत्रको वातावरणीय स्वच्छता, ऊर्जाको आवश्यकता र जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राखे ।
जोमसोम गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको प्रत्यक्ष असरसँग जुध्नु परेको आफ्नो पालिकालाई लक्षित गरी परियोजना सञ्चालन हुन लागेकामा खुशी व्यक्त गरे । प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पूजा शर्माले देशका उच्च हिमाली क्षेत्रमा अझै पनि परम्परागत बायोमासबाट खाना पकाउने र कोठा तताउनुपर्ने बाध्यताका कारण वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर देखिएको उल्लेख गरे । यस परियोजनाको कार्यान्वयनबाट यस्ता समस्या सुधार हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
