कांग्रेस केन्द्रीय समितिको ६ बुँदे सन्देश : एकता, रुपान्तरण र ‘नो एलायन्स’ नीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीको भावी दिशा, संगठनात्मक एकता र राजनीतिक प्रतिबद्धताबारे स्पष्ट सन्देश दिएको छ। नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न बैठकले पार्टीभित्र र बाहिर दुवैलाई लक्षित गर्दै ६ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले निर्णय सार्वजनिक गर्दै कांग्रेस अब आन्तरिक एकता र मूल्य–आधारित राजनीतिमा केन्द्रित हुने बताए। उनका अनुसार पार्टीले निष्क्रिय बनेका तथा विभिन्न कारणले अलग भएका नेताकार्यकर्तालाई पुनः संगठित गर्ने प्रक्रिया अघि बढाउनेछ।
कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको दीर्घकालीन योगदानलाई औपचारिक रूपमा सम्मान गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ। बैठकले देउवाबाट पार्टीले अभिभावकीय भूमिका र अनुभवको निरन्तर मार्गदर्शन पाउने विश्वाससमेत व्यक्त गरेको छ।
राजनीतिक दृष्टिले बैठकको सबैभन्दा महत्वपूर्ण निर्णय आगामी आम निर्वाचनमा कुनै पनि ‘अप्राकृतिक’ गठबन्धन नगर्ने घोषणा हो। सत्ता प्राप्तिका लागि सम्झौता गर्ने पुरानो अभ्यास त्याग्दै कांग्रेस अब मूल्य, सिद्धान्त र संविधानको रक्षामा आधारित राजनीति गर्ने निष्कर्षमा पुगेको छ।
प्रवक्ता चालिसेले भने, “अब कांग्रेस सत्ता केन्द्रित होइन, सिद्धान्त केन्द्रित राजनीतिमा अघि बढ्छ। जनताको अपेक्षा र युवाको आकांक्षा पूरा गर्ने जिम्मेवारी हामीले लिएका छौं।”
बैठकका मुख्य निर्णय संक्षेपमा
-
निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिक मान्यता दिएकोप्रति स्वागत
-
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देश–विदेशका सम्पूर्ण कांग्रेसजनलाई एकताबद्ध हुन आह्वान
-
निष्क्रिय तथा पार्टी छाडेका नेताकार्यकर्तालाई पुनः जोडिन आग्रह
-
शेरबहादुर देउवाको नेतृत्वकालीन योगदानको उच्च मूल्यांकन
-
आगामी निर्वाचनमा कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने स्पष्ट नीति
-
रुपान्तरण, एकता र समुन्नत नेपाल निर्माणको नयाँ अध्याय सुरु भएको घोषणा
कांग्रेसले यस बैठकलाई पार्टी पुनर्संरचना र राजनीतिक पुनर्जागरणको सुरुआतका रूपमा व्याख्या गर्दै सबैलाई भरोसा र साथ दिन आग्रह गरेको छ।
