सम्झौता धेरै, उडान सीमित: ४२ देशसँग हवाई समझदारी भए पनि नेपाली वायुसेवा ११ देशमै खुम्चिएका
काठमाडौं । नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ। तर कागजमा भएका यी सम्झौताले व्यवहारमा त्यति प्रभाव देखाउन सकेका छैनन्। अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने मुलुकको संख्या १४ मा सीमित छ भने नेपाली वायुसेवाहरू आफैंले भने जम्मा ११ देशका १७ गन्तव्यमा मात्र उडान गरिरहेका छन्।
नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा स्वदेशी र विदेशी गरी करिब ३० वायुसेवा संलग्न छन्। ती उडानबाट मासिक झन्डै पौने चार लाख यात्रुले सेवा लिने गरेका छन् भने दैनिक औसत १२ हजार यात्रु अन्तर्राष्ट्रिय हवाई यात्रामा निर्भर छन्। तर यी उडानमध्ये नेपाली वायुसेवाको हिस्सा भने तुलनात्मक रूपमा कमजोर देखिन्छ।
नेपाली वायुसेवा: जहाज कम, पहुँच साँघुरो
हाल नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने तीनवटा मात्र नेपाली वायुसेवा छन्—नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर। सीमित जहाज संख्या र उडान क्षमताका कारण यी वायुसेवाहरूले सम्झौता भएका अधिकांश देशसम्म सेवा विस्तार गर्न सकेका छैनन्।
नेपाल एयरलाइन्सले ९ देशका ११ गन्तव्यमा सातामा ७९ वटा उडान गर्दै आएको छ। हिमालय एयरलाइन्सले ७ देशका ८ गन्तव्यमा सेवा दिइरहेको छ। बुद्ध एयरले भने भारतका दुई शहर—कोलकाता र बनारस—मा मात्र उडान गरिरहेको छ। समग्रमा हेर्दा नेपाली वायुसेवाको अन्तर्राष्ट्रिय नेटवर्क ११ देशमै सीमित छ।
नेपाल एयरलाइन्सका गन्तव्यमा चीनको ग्वान्झाउ, जापानको नारिता, कतारको दोहा, साउदी अरबको दमाम, यूएईको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, भारतका नयाँ दिल्ली, मुम्बई र बेङ्ग्लोर तथा हङकङ पर्छन्। यीमध्ये चार गन्तव्यमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स दुवैले उडान गर्छन्।
हिमालय एयरलाइन्सले भने नेपाल एयरलाइन्सभन्दा फरक रूपमा साउदी अरबको रियाद, कुवेत, चीनको ल्हासा र बंगलादेशको ढाकामा उडान गर्दै आएको छ। हिमालय एयरलाइन्स नेपालमा सञ्चालनमा आएको एकमात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा हो।
बुद्ध एयर आन्तरिक उडानमा अग्रणी भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने सीमित छ। उसले एटीआर–७२ जहाज प्रयोग गरेर भारतको कोलकाता र बनारसमा मात्र उडान गर्दै आएको छ।
विदेशी वायुसेवाको दबदबा
नेपाली आकाशमा भने विदेशी वायुसेवाको उपस्थिति बलियो छ। भारतबाट एयर इन्डिया, इन्डिगो, एयर इन्डिया एक्सप्रेस र स्पाइसजेट नियमित उडानमा छन्। मलेसियाबाट मलेसियन एयरलाइन्स र बाटिक एयर, यूएईबाट एयर अरेबिया, फ्लाई दुबई र एयर अरेबिया अबुधाबी उडान गर्छन्।
कतार एयरवेज, टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, कोरियन एयर, कुवेत एयरलाइन्स, जजीरा एयरवेज, विमान बंगलादेश, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, क्याथे प्यासिफिक, ड्रुक एयर, टासी एयर, थाइ एयरवेज, थाइ एयर एसिया र थाइ लायन एअरलाइन्स पनि नेपाल आउने प्रमुख विदेशी वायुसेवामा पर्छन्।
सम्झौता छ, उडान छैन
हवाई सेवा सम्झौता भए पनि अस्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्विजरल्याण्ड, संयुक्त अधिराज्य, रसिया, माल्दिभ्स, पाकिस्तान, भियतनामलगायत धेरै देशसँग हाल कुनै उडान छैन। केही देशका वायुसेवाले अघिल्लो समयमा सेवा दिएको भए पनि अहिले बन्द गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हवाई सेवा सम्झौता हुँदैमा उडान अनिवार्य हुने व्यवस्था छैन। दुवै पक्षको व्यावसायिक रुचि, बजार सम्भावना र सञ्चालन क्षमता हेरेर मात्र उडान सुरु हुने सहसचिव मुकेश डंगोल बताउँछन्।
काठमाडौं बाहिर प्राथमिकता, तर चुनौती उस्तै
पछिल्लो समय सरकारले हवाई सेवा सम्झौता गर्दा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राख्न थालेको छ। भविष्यमा काठमाडौंको भार घटाउने र क्षेत्रीय विमानस्थल सक्रिय बनाउने उद्देश्य भए पनि विदेशी वायुसेवा भने अझै काठमाडौंमै केन्द्रित छन्। बजार नबनेको र नाफा सुनिश्चित नदेखिएकाले बाहिरका विमानस्थल प्रयोग गर्न विदेशी कम्पनीहरू हिच्किचाइरहेका छन्।
सम्झौता संख्या बढ्दै जाँदा पनि वास्तविक उडान विस्तार हुन नसक्नु नेपाली हवाई क्षेत्रको ठूलो चुनौती बनेको छ। अब प्रश्न उठ्न थालेको छ—सम्झौता मात्र गर्ने कि क्षमतासहित आकाश पनि विस्तार गर्ने?
