रास्वपाको नेतृत्व पंक्तिमा बालेन, २१ दिनपछि औपचारिक जिम्मेवारी सम्हाले
काठमाडौं । स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म वैकल्पिक धारको बहस जन्माएका बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आफ्नो भूमिकालाई औपचारिक रूपमा अगाडि बढाएका छन्। पार्टी प्रवेश गरेको तीन सातापछि उनले आइतबार रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेर वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन्।
स्वतन्त्र राजनीतिक पहिचान बनाएका बालेनको रास्वपामा प्रवेशलाई हालैको राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको थियो। विशेषगरी युवामाझ लोकप्रिय छवि बनाएका बालेनलाई पार्टीको संगठन सुदृढीकरण र वैचारिक बहसमा प्रभावकारी भूमिका खेल्ने नेताका रूपमा हेरिँदै आएको छ।
पदभार ग्रहणका क्रममा पार्टी सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालले बालेनलाई स्वागत गरेका थिए। यस अवसरमा पार्टी नेतृत्वले बालेनको अनुभव, सार्वजनिक स्वीकार्यता र परिवर्तनमुखी दृष्टिकोण रास्वपाका लागि थप ऊर्जा बन्ने विश्वास व्यक्त गरेको छ।
रास्वपामा प्रवेशपछि सार्वजनिक कार्यक्रममा सीमित देखिएका बालेनले पदभार ग्रहणसँगै अब पार्टी गतिविधिमा सक्रिय सहभागिता जनाउने संकेत दिएका छन्। पछिल्लो समय वैकल्पिक राजनीतिको दाबी गर्दै आएको रास्वपाले बालेनजस्ता चर्चित र प्रभावशाली व्यक्तित्वलाई नेतृत्व तहमा समेट्नुलाई आगामी राजनीतिक रणनीतिसँग जोडेर विश्लेषण गरिएको छ।
बालेनको यो औपचारिक जिम्मेवारी ग्रहणसँगै रास्वपाको आन्तरिक संरचना र सार्वजनिक छविमा के कस्तो प्रभाव पर्छ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ। यसअघि उनले काठमाडौं महानगरको मेयरबाट राजीनामा गरेका थिए ।
