रास्वपाबाट उम्मेदवारी तय भएपछि सञ्चारमन्त्री खरेल सरकारबाट बाहिरिए
काठमाडौं— सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारी भएपछि उनले सरकारबाट अलग हुने निर्णय गरेका हुन्।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। पार्टी स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको छ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्मा पछिल्लो समय मन्त्रीहरूको राजीनामाको क्रम जारी छ। यसअघि ऊर्जा मन्त्रालय सम्हालेका कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिएका थिए।
घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ स्थापना गर्दै चुनावी मैदानमा उत्रने घोषणा गरिसकेका छन् भने गुप्ता पनि रास्वपाबाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।
मन्त्रीहरूको लगातार राजीनामाले सरकारको संरचना र आगामी राजनीतिक समीकरणप्रति चासो बढाएको छ।
