काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सरकारबाट अलग हुने निर्णय गरेका छन्। उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। सरकारी जिम्मेवारीभन्दा आफ्नै दीर्घकालीन अभियानलाई अगाडि बढाउने उद्देश्यले राजीनामा दिएको उनको निकट स्रोतले जनाएको छ।
पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा पूर्ण रूपमा लाग्ने निर्णयसहित पदबाट राजीनामा दिनुभएको छ।”
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका पुनले अब सो संस्थाको नेतृत्व सम्हाल्दै अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई थप सशक्त बनाउने योजना बनाएका छन्। मन्त्री बनेपछि केही समय निष्क्रिय अवस्थामा पुगेको केन्द्रलाई पुनः सक्रिय बनाउने उनको लक्ष्य रहेको बुझिएको छ।
पुनको राजीनामासँगै हालै क्याबिनेटबाट बाहिरिने मन्त्रीको संख्या चार पुगेको छ। यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले पद छाड्दै ‘उज्यालो नेपाल पार्टी’को अध्यक्षको रूपमा चुनावी राजनीतिमा होमिएका थिए। त्यसैगरी युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
लगातार मन्त्रीहरूको बहिर्गमनले सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणबारे नयाँ बहस सुरु भएको छ।