मध्यम उमेर समूहका उम्मेदवार चुनावी मैदानमा
काठमाडौँ । फागुन २१ मा हुन लागेको निर्वाचनमा उम्मेदवारको उमेरगत संरचना हेर्दा मध्यम उमेर समूहको उल्लेखनीय वर्चस्व देखिएको छ। विशेषगरी ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार संख्या सबैभन्दा बढी रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।
कुल ३ हजार ४४८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा तीमध्ये १ हजार ६१० जना ३६ देखि ५० वर्ष उमेर समूहका छन्। यो तथ्यले राजनीतिमा अनुभव र सक्रियताको सन्तुलन खोज्ने प्रवृत्ति बलियो हुँदै गएको संकेत गर्छ।
त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ५१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवारको संख्या १ हजार ९० रहेको छ।
६१ वर्षभन्दा माथिका उम्मेदवार भने तुलनात्मक रूपमा कम छन्। यो उमेर समूहबाट जम्मा २०१ जनाले मात्र उम्मेदवारी दिएका छन्।
दलगत रूपमा हेर्दा ६८ वटा राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार मैदानमा छन् भने १ हजार १८७ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
उमेरगत विविधतासँगै दल र स्वतन्त्र उम्मेदवारको सहभागिताले यस निर्वाचनलाई प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको विश्लेषकहरूको भनाइ छ।
