सर्वोच्चको आदेश मान्ने महानगरको प्रतिबद्धता
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई पूर्ण सम्मान गर्दै अघि बढ्ने जनाएको छ।
उपत्यकाका १९ वटा नदी सरोकार सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सर्वोच्च अदालतले माघ ४ गते जारी गरेको आदेशअनुसार नदी किनारामा लगाइएको निर्माण रोक्का फुकुवासम्बन्धी सार्वजनिक सूचना महानगरले जारी गरिसकेको जानकारी दिइन्।
भेटका क्रममा डङ्गोलले नदी किनाराका बासिन्दालाई विस्थापित गराउने उद्देश्य महानगरको नरहेको स्पष्ट पार्दै अदालतको आदेशको पालना गर्दै जायज माग सम्बोधन र सहकार्यका आधारमा समाधान खोजिने बताइन्।
उनले नदी किनारामा बसोबास गर्ने उपत्यकावासीले विभिन्न समयमा अदालत, सडक र सम्बन्धित कार्यालयमार्फत एकताबद्ध रूपमा आफ्ना समस्या उठाइरहेकोप्रति ध्यानाकर्षण गराउँदै त्यस क्रममा देखाइएको संयम र सहकार्यको प्रशंसा गरिन्।
भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले कार्यवाहक प्रमुख डङ्गोललाई जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै नागरिकको अधिकार संरक्षण र नगरवासीका समस्या समाधानमा निरन्तर सक्रिय रहन आग्रह गरे।
नदी अभियन्ता राजाराम तण्डुकारलगायत प्रतिनिधिहरूले पनि अदालतको आदेशपछि महानगरले लिएको पछिल्लो निर्णयलाई सकारात्मक कदमको रूपमा लिँदै संवादमार्फत समाधान खोज्न सकिने अपेक्षा व्यक्त गरे।
