काठमाडौं । वामपन्थी शक्तिहरूबीच चुनावी तालमेलको नयाँ प्रयासस्वरूप आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ। यस सहकार्यलाई स्थानीय राजनीतिमा शक्ति सन्तुलन फेरिने संकेतका रूपमा हेरिएको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार एमालेले दुवै निर्वाचन क्षेत्रमा आफ्ना संगठन र कार्यकर्तालाई प्रलोपाका उम्मेदवारको पक्षमा परिचालन गर्नेछ।
रुकुम पश्चिममा प्रलोपाको तर्फबाट पूर्वमन्त्री जनार्दन शर्मा उम्मेदवार रहेका छन् भने रुकुम पूर्वमा संदिप पुन चुनावी मैदानमा छन्। प्रलोपाको चुनाव चिन्ह ‘आँखा’ रहेको छ।
राजनीतिक रूपमा रुकुम वामपन्थी आन्दोलनको बलियो आधार क्षेत्र मानिन्छ। विगतका निर्वाचनमा पनि यहाँ वाम शक्तिहरूबीच प्रतिस्पर्धा र सहकार्य दुवै देखिँदै आएको छ। यसपटक एमाले–प्रलोपा सहकार्यले स्थानीय तथा राष्ट्रिय राजनीतिमा वाम धारको प्रभाव सुदृढ गर्ने दाबी दुवै दलले गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यस समझदारीले रुकुममा मत विभाजन रोक्न सहयोग गर्नेछ भने गठबन्धनको प्रभाव अन्य पहाडी जिल्लामा समेत पर्ने सम्भावना छ।
