फितुर २०२६ ले पश्चिम युरोपमा नेपालको पर्यटन सम्भावना उजागर गर्यो
काठमाडौं । स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास र पहिचान थप सुदृढ बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले फितुरलाई नेपालको पर्यटनका लागि रणनीतिक र ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन् ।
२१ देखि २५ जनवरी २०२६ सम्म चलेको फितुरको ४६औँ संस्करणले नेपाललाई पश्चिम युरोपेली बजारमा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेलेको सचिव निरौलाको भनाइ छ । उनका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चहरू पर्यटन साझेदारी, लगानी र व्यापारिक नेटवर्क विस्तारका लागि निर्णायक हुन्छन् ।
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीज (नाट्टा) को सहकार्यमा आयोजित नेपाली पभेलियनमा ३० वटा ट्राभल, टुर तथा पर्यटनसम्बन्धी संस्थाहरूले सहभागिता जनाएका थिए । पभेलियन उद्घाटन समारोहमा पर्यटन सचिव निरौला, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीसहित सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सचिव निरौलाले नेपाली पर्यटन व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गर्दै यस्ता अवसरको अधिकतम सदुपयोग गर्नुपर्ने बताए ।
यस अवसरमा सीईओ जोशीले नेपाललाई केवल ट्रेकिङ र पर्वतारोहणमा सीमित गन्तव्यको रूपमा नभई संस्कृति, भाषा, जातीय विविधता, जैविक सम्पदा र दिगो पर्यटनको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको उल्लेख गरे ।
मेलाको दोस्रो दिन आयोजना गरिएको ‘नेपाल कनेक्ट’ नेटवर्किङ कार्यक्रम विशेष आकर्षणको रूपमा रह्यो । कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरूको सहभागिता रहेको थियो । सो क्रममा सचिव निरौलाले विदेशी व्यवसायीहरूलाई नेपाली पर्यटन उद्यमीसँग सहकार्य गर्न आह्वान गर्दै सुरक्षित, गुणस्तरीय र विश्वसनीय पर्यटन सेवाको प्रतिबद्धता व्यक्त गरे ।
नेटवर्किङ कार्यक्रममा स्पेनस्थित नेपाली दूतावास, यूएन टुरिज्मका प्रतिनिधि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर, भ्लगर तथा इन्फ्लुएन्सरहरूको उल्लेखनीय उपस्थिति थियो ।
फितुरको अन्तिम दुई दिन नेपाल पभेलियनमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक कार्यक्रम दर्शकका लागि मुख्य आकर्षण बन्यो । नेपाली नृत्य, गीत र संगीतले मेलास्थललाई जीवन्त बनाएको थियो भने छिमेकी मुलुक मलेसियाका कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप रंगीन बनाएको थियो ।
यस वर्षको फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनीहरूको सहभागिता रहेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको आयोजकले जनाएका छन् ।
