खराब मौसमले हवाई आवागमन अवरुद्ध, काठमाडौं आउने पर्यटकको यात्रा तालिका प्रभावित
काठमाडौं । राजधानी काठमाडौंमा बुधबार बिहानदेखि देखिएको खराब मौसमले नेपाल आउने–जाने पर्यटकको यात्रा योजनामा असर पारेको छ। दृश्यता घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन्।
पर्यटन सिजनको पूर्वसन्ध्यामा देखिएको मौसमको यो अवरोधका कारण विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बोकेका ठूला विमानहरू आकाशमै होल्डमा राखिएका छन् भने केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएका छन्।
दिल्लीबाट काठमाडौं आएका एयर इन्डियाको विमान आवश्यक दृश्यता नपुग्दा पुनः दिल्ली नै फर्किएको छ। उक्त विमानलाई अवतरणका लागि कम्तीमा २२ सय मिटर दृश्यता आवश्यक थियो, तर काठमाडौं उपत्यकामा दृश्यता १६ सय मिटरमा सीमित भएपछि अवतरण सम्भव हुन सकेन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दोहा, इस्तानबुल, दोहा र अन्य अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमानहरू अनुकूल मौसमको पर्खाइमा सिमराको आकाशमा होल्डमा राखिएका छन्। यसले काठमाडौंलाई प्रवेशद्वार बनाउँदै पोखरा, चितवन, लुम्बिनी तथा हिमाली गन्तव्यतर्फ जाने पर्यटकको आन्तरिक यात्रा तालिकासमेत प्रभावित भएको छ।
आन्तरिक उडानतर्फ पनि तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराजजस्ता पर्यटन र व्यवसायिक सम्भावना बोकेका विमानस्थलमा मौसम प्रतिकूल हुँदा उडान ठप्प भएका छन्। यसले साहसिक पर्यटन, धार्मिक भ्रमण र व्यवसायिक यात्रामा निर्भर यात्रुहरूलाई वैकल्पिक योजना बनाउन बाध्य बनाएको छ।
पर्यटन विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको मौसमले अन्तर्राष्ट्रिय उडानमा बारम्बार असर पार्नु नेपाल पर्यटनको छविका लागि चुनौतीपूर्ण विषय हो। आधुनिक प्रविधिमा आधारित नेभिगेसन प्रणाली (आरएनपी/एआर अप्रोच) विस्तार भएमा खराब मौसममा पनि सुरक्षित अवतरण सम्भव हुने र पर्यटकको समय र अनुभव दुवै जोगिन सक्ने उनीहरूको भनाइ छ।
हाल त्रिभुवन विमानस्थलबाट दैनिक करिब १०० अन्तर्राष्ट्रिय र २०० आन्तरिक उडान सञ्चालन हुने गरेका छन्। मौसम सुधार नहुँदासम्म यात्रु तथा पर्यटकलाई उडान तालिका अद्यावधिक जानकारी लिइरहन र वैकल्पिक योजनासहित यात्रा गर्न पर्यटन सम्बद्ध निकायले आग्रह गरेका छन्।
