प्रधानमन्त्री शाहको रोजाइमा अस्तामको अन्नपूर्ण इको भिलेज, ग्रामीण पर्यटनको नमुना बन्दै
पोखरा । पोखरा हुँदै मुस्ताङ जाने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टलाई बासका लागि रोजेका छन्। पोखरा आएपछि अन्यत्र नरोकी उनी शुक्रबार दिउँसो अस्ताम पुगेका हुन्।
पोखराबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो रिसोर्ट हेम्जाबाट भित्री सडक हुँदै पुगिन्छ। जंगलबीचको घुमाउरो कालोपत्रे सडक, शान्त वातावरण, हरियाली र हिमाली दृश्यका कारण अस्ताम पछिल्लो समय ग्रामीण तथा प्रकृति पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाहको टोलीका लागि चारवटा ब्लकमा रहेका १२ कोठा बुक गरिएको छ। रिसोर्टका सञ्चालक विश्व अधिकारी र उनको परिवारले स्थानीय स्रोत, प्रकृति र मौलिकतालाई पर्यटन व्यवसायसँग जोड्दै अन्नपूर्ण इको भिलेज सञ्चालन गरिरहेका छन्। २०६३ सालमा आफ्नै पुर्ख्यौली घरबाट दुई कोठाबाट सुरु गरिएको व्यवसाय अहिले २३ कोठासहितको रिसोर्टमा विस्तार भएको छ। योगाहललगायतका संरचना थपिँदा रिसोर्ट करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
अधिकारी परिवारले रिसोर्टमा हालसम्म करिब २५ करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ। वातावरणमैत्री थप कोठा निर्माण गर्ने योजना पनि उनीहरूको छ।
रिसोर्टको मुख्य आकर्षण यसको प्राकृतिक अवस्थिति हो। उत्तरतर्फ हेर्दा माछापुच्छ्रे लगायतका हिमशृंखला र पूर्वतर्फ पोखरा उपत्यका, हेम्जाको बस्ती तथा घुमाउरो राजमार्गको दृश्य देखिन्छ। गर्मी र सहरी कोलाहलबाट केही समय टाढा रहन चाहने पर्यटकका लागि अस्ताम उपयुक्त गन्तव्य बन्दै गएको सञ्चालकको भनाइ छ।
अन्नपूर्ण इको भिलेजले खानपानमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ। पाहुनालाई दिइने चियादेखि खाना र खाजासम्म सकेसम्म स्थानीय कृषि उपज प्रयोग गर्ने गरिएको छ। यसले रिसोर्टलाई केवल बसोबासको ठाउँ नभई स्थानीय संस्कृति, कृषि र प्रकृतिसँग जोडिएको ग्रामीण पर्यटनको अनुभव दिने गन्तव्यका रूपमा चिनाउन मद्दत गरेको छ।
प्रधानमन्त्री शाहको रोजाइले पनि अस्तामजस्ता कम चर्चित ग्रामीण गन्तव्यमा पर्यटनको सम्भावना र आकर्षणलाई थप उजागर गरेको छ। प्रकृति, शान्त वातावरण र हिमाली दृश्यलाई केन्द्रमा राखेर विकास गरिएका यस्ता गन्तव्यले पोखरा आसपासको पर्यटनलाई थप विविध बनाउन सक्ने देखिन्छ।
