भेडा फार्म बनेको छ किस्पाङको पर्यटकीय आकर्षण
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र अहिले पशुपालन र नश्ल सुधारसँगै पर्यटनको गन्तव्यसमेत बन्दै गएको छ। हिमाली भू-दृश्य, खुला चरण क्षेत्र र स्थानीय बरुवाल जातका भेडा हेर्न आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्।
समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको यो केन्द्र काठमाडौँबाट करिब १०१ किलोमिटरको दूरीमा छ। केन्द्रको स्वामित्वमा ६६० रोपनी जमिन छ भने आसपास पर्याप्त खर्क तथा चरण क्षेत्र रहेका छन्। हाल यहाँ ३५४ भेडा पालिएका छन्।
केन्द्र बरुवाल जातका भेडाको संरक्षण तथा नश्ल सुधारको महत्वपूर्ण थलो हो। यहाँ उत्पादन भएका प्रजननयोग्य थुमा तथा पाठापाठी किसान समूहलाई उपलब्ध गराइन्छ। हाल नुवाकोट, धादिङ र रसुवाका किसान समूहले केन्द्रबाट प्रजननका लागि भेडा लैजाने गरेका छन्।
भेडा खरिदका लागि किसान समूहले निवेदनसहित सम्बन्धित वडाको सिफारिस पेस गर्नुपर्छ। त्यसपछि तोकिएको राजस्व तिरेर केन्द्रबाट प्रजननयोग्य भेडा उपलब्ध गराइन्छ।
केन्द्रले भेडापालनमा सहयोग पुग्ने सामग्री र प्रविधिसम्बन्धी तालिमसमेत किसानलाई दिँदै आएको छ। ऊन काट्ने कैँची, भेडा पाल्ने त्रिपाल र रेनकोटजस्ता सामग्री उपलब्ध गराउनुका साथै राईघाँस, सेटेरिया, किक्यु र पास्पालमजस्ता बहुवर्षीय घाँसका बीउ तथा बेर्ना उत्पादन र वितरण पनि गरिन्छ।
केन्द्रका कार्यालय प्रमुख डा. श्यामकृष्ण तिवारीका अनुसार यसको मुख्य उद्देश्य ठूलो संख्यामा आफैं भेडा पाल्नु भन्दा किसानको उत्पादन क्षमता बढाउनु हो। बरुवाल भेडाको आनुवंशिक स्रोत संरक्षण गर्दै किसानलाई आवश्यक प्रजननयोग्य भेडा उपलब्ध गराउने काम केन्द्रको प्राथमिकतामा छ।
केन्द्रले भविष्यमा करिब ५०० भेडा पुर्याउने लक्ष्य लिएको छ। पर्याप्त चरण क्षेत्र भएकाले त्यसअनुसार भेडाको संख्या विस्तार गर्न सकिने केन्द्रको भनाइ छ।
भेडापालनसँगै केन्द्रले कृषि तथा पशुपालनसम्बन्धी अन्य सेवा पनि दिँदै आएको छ। स्थानीय किसानको मागअनुसार गाईभैँसीको प्राकृतिक प्रजनन सेवाका लागि मुर्रा क्रस राँगो र जर्सी साँढे पनि राखिएको छ।
इतिहाससँग जोडिएको भाल्चे
भाल्चेको यो केन्द्रको इतिहास राणाकालीन सरकारी गाईगोठसँग जोडिन्छ। भेडा फार्म स्थापना हुनुअघि यहाँ सरकारी गाईगोठ सञ्चालनमा थियो, जसलाई स्थानीयले ‘राजाको गोठ’ भनेर चिन्थे। त्यहाँ उत्पादन हुने दूध, दही, मही र घ्यू काठमाडौँ दरबारमा पठाइने गरेको इतिहास छ।
पछि सरकारले गाईगोठ हटाएर स्थानीय बरुवाल भेडाको नश्ल सुधार, मासु तथा ऊन उत्पादन बढाउने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो।
फार्म स्थापना भएपछि स्थानीय बरुवाल भेडालाई विदेशी ऊन उत्पादन गर्ने जातसँग क्रस गराएर उन्नत पाठापाठी उत्पादन तथा विभिन्न अध्ययन–अनुसन्धान अघि बढाइयो। विसं २०२७/२८ तिर अष्ट्रेलियन पोलवर्थ र स्थानीय बरुवालबीच क्रस प्रजनन सुरु गरिएको थियो।
विसं २०३०/३१ देखि केन्द्रमा उत्पादन भएका उन्नत जातका प्रजननयोग्य थुमा किसान तथा विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो। त्यसपछि विश्व बैंकको सहयोगमा सञ्चालित रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजनाले पूर्वाधार तथा नश्ल सुधारका कार्यक्रमलाई थप बल दिएको थियो।
विसं २०३६ मा फ्रान्सबाट फ्रेन्च मेरिनो डार्ले जातका भेडा ल्याएर समेत परीक्षण गरिएको थियो। अन्य जात अपेक्षाअनुसार विकसित हुन नसकेपछि अहिले केन्द्रले बरुवाल जातको संरक्षण र सुधारलाई प्राथमिकता दिएको छ।
पशुपालनसँगै पर्यटनको सम्भावना
किस्पाङ गाउँपालिकाले भाल्चेको भेडा फार्मलाई कृषि–पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको छ। गाउँपालिकाका अनुसार फार्म आसपास आवश्यक पर्यटकीय पूर्वाधार विस्तारको काम भइरहेको छ।
भेडा हेर्न आउने पर्यटकका लागि यहाँको प्राकृतिक वातावरण, चरण क्षेत्र र ग्रामीण जीवनशैली थप आकर्षण बन्न सक्छ। त्यसैले पशु आनुवंशिक स्रोत संरक्षणलाई पर्यटनसँग जोड्न सके स्थानीय किसानको आम्दानी, रोजगारी र गाउँको पर्यटन गतिविधि विस्तार गर्न सकिने सम्भावना देखिन्छ।
यसरी भाल्चेको भेडा फार्म केवल नश्ल सुधार र पशु संरक्षणको केन्द्रमा सीमित नरही कृषि, प्रकृति र ग्रामीण पर्यटनलाई जोड्ने नयाँ गन्तव्यका रूपमा विकास हुने आधार तयार हुँदै गएको छ।
