निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री अर्याल
काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले भयमुक्त वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
निर्वाचनको तयारीसम्बन्धी गतिविधिबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो–कोहीलाई कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पारे। उनले निर्वाचन सुरक्षाका लागि सशक्त सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरूको सुरक्षाका लागि भरपर्दो व्यवस्था मिलाइएको बताए।
गृहमन्त्री अर्यालका अनुसार मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिरहेको छ। “आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकिएको छ,” उनले भने।
छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीमा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै आयोगको तर्फबाट गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा भएको जानकारी गराए। उनले संविधान, निर्वाचनसम्बन्धी कानुन तथा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधिप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारे। दण्डहीनता कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।
भेटमा निर्वाचन आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न समग्र शान्तिसुरक्षा र निर्वाचन समय व्यवस्थापनसम्बन्धी तयारीबारे पनि विचार–विमर्श गरिएको थियो।
