सैनिक मञ्चको दक्षिण चउर हरियो बनाइँदै, खुला सार्वजनिक स्थलको नयाँ रूपान्तरण
काठमाडौँ — काठमाडौं महानगरपालिकाले राजधानीको व्यस्त सहरी परिवेशबीच रहेको सैनिक मञ्चको दक्षिण चउरलाई व्यवस्थित र हरियालीयुक्त खुला स्थानमा रूपान्तरण गर्ने काम अघि बढाएको छ। उक्त चउरमा करिब दुई करोड ७० लाख रुपैयाँ लागतमा ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरको सार्वजनिक निर्माण विभागका अनुसार चउरलाई सर्वसाधारणमैत्री बनाउने उद्देश्यले जमिन सम्याउने, मलिलो माटो थप्ने र घाँस रोप्ने कार्य गरिनेछ। हाल धुलो उड्ने तथा वर्षायाममा हिलो जम्ने समस्याका कारण नागरिकलाई असहज हुँदै आएको स्थानलाई प्रयोगमैत्री बनाउने लक्ष्य लिइएको छ।
वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार चउरको सतह मिलाएर करिब तीन इञ्च मोटाइको माटो बिछ्याइनेछ, त्यसपछि वरमुढा ग्रास रोपिनेछ। साथै वर्षात्को पानी व्यवस्थापन गर्न छ मिटर गहिराइ र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट निर्माण गरिनेछन्।
अहिले यो चउर बालबालिका र युवाहरूको खेलकुद गतिविधि, ज्येष्ठ नागरिकको विश्रामस्थल तथा विभिन्न सामाजिक कार्यक्रमको स्थलका रूपमा प्रयोग हुँदै आएको छ। योजना कार्यान्वयनपछि खुला स्थानको उपयोग अझ सुरक्षित, सफा र आकर्षक हुने महानगरपालिकाको विश्वास छ।
महानगरका अनुसार यो परियोजनाले सहरी हरियाली विस्तार, वातावरणीय सन्तुलन, सामाजिक अन्तरघुलन र काठमाडौंको सौन्दर्य वृद्धिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
