सिमसार संकटमा परेपछि घट्दै जलपन्छी, किन कमजोर बन्दै गयो नेपालका ताल–नदीको जीवन?
कञ्चनपुर । नेपालका सिमसार क्षेत्रहरूमा आश्रित जलपन्छीको अवस्था वर्षेनी कमजोर बन्दै गएको देखिएको छ। यस वर्ष सम्पन्न एसियन वाटरबर्ड सेन्सस–२०२६ ले जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवै घटेको तथ्य सार्वजनिक गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घको संयुक्त आयोजनामा गरिएको गणनाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख भएका छन्। अघिल्लो वर्ष ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए। यसरी एक वर्षमै प्रजाति पाँच र सङ्ख्या करिब छ हजारले घटेको छ।
सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलको विश्वव्यापी समन्वयमा नेपालमा जलपन्छी गणना हुँदै आएको छ। यस वर्षको गणना पुस १९ देखि माघ ५ गतेसम्म देशभरका १८ प्रमुख सिमसार क्षेत्र र तिनअन्तर्गत ७८ उप–क्षेत्रमा सञ्चालन गरिएको थियो। ४११ जना स्वयंसेवक, पन्छीविद् र कर्मचारीहरू गणनामा संलग्न थिए। नतिजा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिएको हो।
तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा सबैभन्दा धेरै २५ हजार ३५८ जलपन्छी फेला परे पनि यो सङ्ख्या गत वर्षभन्दा कम हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने उत्साहजनक रूपमा चराको सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको छ।
जगदीशपुर जलाशय, कोशीटप्पु वन्यजन्तु आरक्ष र रारा तालजस्ता महत्त्वपूर्ण सिमसार क्षेत्रमा भने गिरावट स्पष्ट देखिएको छ। विशेषगरी कोशीटप्पुमा एक वर्षमै करिब आधाभन्दा बढी जलपन्छी घटेका छन्। रारा तालमा पनि सङ्ख्या झण्डै आधाले घटेको छ।
बाँके राष्ट्रिय निकुञ्ज, बर्जुताल र काठमाडौँ उपत्यकाका टौदह तथा बागमती क्षेत्रहरूमा समेत जलपन्छीको उपस्थिति घट्दो क्रममा देखिएको छ। यद्यपि धनुषाधाम, कमला नदी, लुम्बिनी क्षेत्र, घोडाघोडी ताल र पोखरा उपत्यकाका केही सिमसारमा भने अघिल्लो वर्षको तुलनामा सुधार देखिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ।
वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौडयालका अनुसार सिमसार क्षेत्रको अतिक्रमण, जलप्रदूषण, नदीको बहाव परिवर्तन, अव्यवस्थित विकास र मानव गतिविधिको चाप जलपन्छी घट्नुका प्रमुख कारण हुन्। “जलपन्छी सिमसारको स्वास्थ्य सूचक हुन्। चराको सङ्ख्या घट्नु भनेको सिमसार आफैँ संकटमा पर्नु हो,” उनी भन्छन्।
उनका अनुसार जलपन्छी गणनाको उद्देश्य केवल सङ्ख्या गन्नु मात्र नभई सिमसार संरक्षणप्रति चेतना फैलाउने र नीति निर्माणका लागि वैज्ञानिक आधार उपलब्ध गराउनु पनि हो।
विज्ञहरू नेपालका ताल, नदी र सिमसार क्षेत्रको दीर्घकालीन संरक्षणमा ध्यान नदिइए जलपन्छी मात्र होइन, समग्र जैविक विविधता नै जोखिममा पर्ने चेतावनी दिन्छन्।
