काठमाडौं । होटल मेरियटले आफ्नो सातौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। नेपाललाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्ने उद्देश्यसहित सुरु भएको होटलको यात्रा सात वर्षमा आएर संस्थागत विकास, साझेदारी र दीर्घकालीन प्रतिबद्धताको प्रतीकका रूपमा विकसित भएको बताइएको छ।
स्थापनाकालदेखि नै होटलले केवल सेवा प्रदान गर्ने काममा सीमित नरही काठमाडौंको सांस्कृतिक पहिचान, आतिथ्य भावना र स्थानीय विशेषतालाई आफ्ना सेवामा समेट्दै आएको जनाएको छ।
होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती चरण सम्झँदै यस परियोजना केवल व्यावसायिक पहल नभई नेपालको सम्भावनामा आधारित विश्वासको अभियान भएको उल्लेख गरे। उनका अनुसार अन्तर्राष्ट्रियस्तरको सेवा मापदण्ड कायम गर्दै दीर्घकालीन मूल्य निर्माणमा केन्द्रित प्रयास गरिएको थियो।
महाप्रबन्धक शंकुष महाजनले सात वर्षे यात्रापछि होटलका लागि ‘लक्जरी’ भनेको सेवा मात्र नभई जिम्मेवारी पनि भएको बताए। ऊर्जा दक्षता, स्रोत व्यवस्थापन र दिगोपनलाई प्राथमिकतामा राख्दै होटलले एलईईडी गोल्ड प्रमाणपत्र प्राप्त गर्नु गौरवको विषय भएको उनले उल्लेख गरे।
वार्षिकोत्सव कार्यक्रममा विशिष्ट अतिथि, व्यवसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।