नेपाली आकाशमा उडानको होड, यात्रु बोक्ने खेलमा फरक समीकरण
काठमाडौं — नेपालको अन्तर्राष्ट्रिय आकाशमा नेपाली वायुसेवाबीच प्रतिस्पर्धा चर्किँदै गएको छ । उडान संख्या बढाउने दौडमा निजी क्षेत्रको हिमालय एयरलाइन्स अगाडि देखिएको छ भने यात्रु बोक्ने क्षमतामा भने सरकारी नेपाल वायुसेवा निगमले बाजी मारेको छ । एउटै आकाश, उस्तै जहाज संख्या तर व्यापार मोडेल र क्षमताले दुई कम्पनीबीच फरक परिणाम देखाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सन् २०२५ मा हिमालय एयरलाइन्सले सबैभन्दा धेरै—३ हजार ५ सय ४२ अन्तर्राष्ट्रिय उडान गर्यो । तर ती उडानबाट सेवा पाएका यात्रु संख्या भने ४ लाख ७४ हजार ९८७ मा सीमित रह्यो ।
त्यही अवधिमा नेपाल वायुसेवा निगमले हिमालयभन्दा केही कम—३ हजार ५ सय १७ उडान मात्रै गरे पनि ६ लाख ६ हजार ३३३ यात्रुलाई सेवा दियो । उडान कम, यात्रु बढी—यो नै निगम र हिमालयबीचको मुख्य भिन्नता बनेको छ ।
जहाजको प्रकारले बद्लिएको तस्वीर
दुवै वायुसेवासँग समान ४/४ वटा जहाज छन् । तर निगमसँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज छन् भने हिमालयका सबै जहाज न्यारोबडी मात्रै छन् । यही कारणले निगमका प्रत्येक उडानमा यात्रु क्षमता स्वाभाविक रूपमा बढी देखिएको हो ।
लामो दूरीको गन्तव्य जापानको नारिता उडानले पनि निगमको आम्दानी र यात्रु संख्यामा थप बल दिएको छ । सन् २०२५ मा निगमले यात्रु सेवाबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गरेको अनुमान छ, जसमा प्रति यात्रु औसत आम्दानी साढे २६ हजार रुपैयाँभन्दा बढी पर्छ ।
स्वदेशीभन्दा विदेशी वायुसेवाको दबदबा
यद्यपि नेपाली वायुसेवाबीच प्रतिस्पर्धा बढ्दै गए पनि नेपालको अन्तर्राष्ट्रिय यात्रु बजार अझै विदेशी वायुसेवाकै पकडमा छ । कुल ५० लाख ४५ हजार अन्तर्राष्ट्रिय यात्रुमध्ये १० लाख ९७ हजार मात्रै नेपाली वायुसेवाबाट यात्रा गरेका छन् । बाँकी ३९ लाखभन्दा बढी यात्रु विदेशी वायुसेवामै निर्भर छन् ।
उडान संख्याका आधारमा भारतीय वायुसेवा एयर इन्डिया सबैभन्दा अगाडि छ । उसले सन् २०२५ मा ३ हजार ६९५ उडान गरी झण्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । यात्रु संख्यामा भने एयर इन्डिया र निगमबीच रोचक प्रतिस्पर्धा देखिन्छ—एयर इन्डियाको उडान धेरै, तर यात्रु संख्या निगमभन्दा कम ।
कतार एयरवेज, इन्डिगो, एयर इन्डिया एक्सप्रेस र स्पाइस जेटजस्ता विदेशी वायुसेवाको उपस्थितिले नेपालको आकाश झन् व्यस्त बनेको छ । भारतीय वायुसेवामात्रै प्रयोग गर्ने यात्रु संख्या एक वर्षमा १० लाख नाघेको तथ्यांकले देखाउँछ ।
प्रश्न अझै उस्तै
उडान संख्या बढाउने कि यात्रु क्षमता विस्तार गर्ने ? नेपाली वायुसेवाका लागि यो प्रश्न अझै खुला छ । हिमालय आक्रामक उडान रणनीतिमा देखिन्छ भने निगम वाइडबडी जहाज र लङ–हल गन्तव्यको फाइदा उठाउँदै यात्रु र आम्दानी दुवैमा अगाडि बढिरहेको छ ।
तर एउटा यथार्थ स्पष्ट छ—नेपाली आकाशमा प्रतिस्पर्धा बढे पनि यात्रु बजारको ठूलो हिस्सा अझै विदेशी वायुसेवाकै हातमा छ ।
