काठमाडौं । बंगलादेशमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ। बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमानले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राजधानी ढाकास्थित संसद भवन परिसरमा विशेष रूपमा तयार गरिएको खुला मञ्चमा आयोजित समारोहमा उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पद तथा गोपनीयताको शपथ गराएका हुन्। परम्परागत रूपमा राष्ट्रपति भवनमा हुँदै आएको शपथ समारोह यसपटक सार्वजनिक सहभागिता झल्किने गरी खुला स्थानमा आयोजना गरिएको थियो।
शान्ति र कानुनी शासनको प्रतिबद्धता
शपथपछि सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले देशमा शान्ति, स्थिरता र कानुनी शासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताए। उनले समर्थकहरूलाई प्रतिशोधको राजनीति नगर्न सचेत गराउँदै कुनै पनि प्रकारको अराजक गतिविधि सहन नसकिने स्पष्ट पारे। गत फेब्रुअरी १२ मा सम्पन्न आमनिर्वाचनमा बीएनपीले दुई तिहाइ बहुमत हासिल गरेको थियो।
मन्त्रिपरिषद् विस्तार
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्रीसँगै २५ मन्त्री र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन्। समारोहमा विभिन्न मित्र राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपालका तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए। एजेन्सीको सहयोगमा