चन्द्रगढी विमानस्थलमा जहाज दुर्घटनाको कारण ढिलो टचडाउन
काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा गत पुस १८ मा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनले अवतरणका क्रममा ढिलो टचडाउन र त्यसपछिको सीमित दूरीमा गरिएको ब्रेकिङलाई मुख्य कारणका रूपमा औंल्याएको छ।
९एन–एएमएफ कलसाइनको एटिआर ७२–५०० विमान २०२६ जनवरी २ मा काठमाडौंबाट चन्द्रगढीका लागि उडेको थियो। अवतरणका बेला जहाज निर्धारित टचडाउन बिन्दुभन्दा करिब ४२० मिटर अगाडि अवतरण गरेको र त्यसपछि झन्डै १,११२ मिटर दूरीबाट मात्रै प्रभावकारी ब्रेकिङ सुरु भएको प्रारम्भिक निष्कर्षमा उल्लेख छ। रनवेमा पर्याप्त दूरी बाँकी नरहँदा विमान ओभररन भई चिप्लिएको, दायाँ–बायाँ मोडिँदै विमानस्थलको भित्री बार भत्काएर करिब १८३ मिटर बाहिर पुगेको प्रतिवेदनमा जनाइएको छ।
दुर्घटनामा मानवीय क्षति नभए पनि १ चालकदल सदस्यसहित ४ यात्रु सामान्य घाइते भएका थिए। विमानका मुख्य र अगाडिका ल्यान्डिङ गियर, इन्जिन तथा प्रोपेलरमा गम्भीर क्षति पुगेको छ।
पर्यटन मन्त्रालयले घटनाको छानबिनका लागि वरिष्ठ क्याप्टेन विनोद पुरीको नेतृत्वमा अनुसन्धान जिम्मा दिएको थियो। अनुसन्धान टोलीले फ्लाइट डाटा रेकर्डर, ककपिट भ्वाइस रेकर्डर र एटीसी रेकर्डको विश्लेषण गर्नुका साथै चालकदल, एटीसी र उद्धारकर्मीहरूसँग प्रारम्भिक सोधपुछ गरेको जनाएको छ।
उक्त उडान चालकदलका लागि दिनको पाँचौँ तथा अन्तिम उडान थियो। को–पाइलटले जहाज उडाइरहेका थिए भने क्याप्टेन पाइलट मोनिटरिङ भूमिकामा थिए। मौसम सामान्य र एटीसीबाट अवतरण अनुमति प्राप्त भइसकेको अवस्थामा पनि ढिलो टचडाउन र सीमित रनवे दूरीका कारण ब्रेकिङ प्रभावकारी हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धान समितिले विस्तृत अध्ययनपछि अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।
