निर्वाचन सुरक्षाका लागि सबै संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्। सरकारले तोकिएकै मितिमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै उनले मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरे।
उनका अनुसार निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ। उक्त योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकाय समन्वयात्मक रूपमा परिचालित छन्। सुरक्षा संवेदनशीलताको आधारमा प्रदेश र जिल्लास्तरसम्म कमान्ड पोस्ट तथा निर्वाचन सेल सक्रिय बनाइएको उनले जानकारी दिए।
मन्त्री अर्यालले पछिल्लो समय देखिएका छिटफुट झडप वा घटनाले निर्वाचन प्रक्रियामा कुनै प्रभाव नपार्ने स्पष्ट पारे। ती घटनाहरू नियन्त्रणभित्र रहेको र गृह प्रशासनले नियमित अनुगमन तथा विश्लेषण गरिरहेको उनको भनाइ थियो। भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र हराएका हतियारसम्बन्धी विषय पनि अहिले सुरक्षा चुनौती नरहेको उनले बताए। अधिकांशलाई नियन्त्रणमा ल्याइसकिएको र बाँकीको खोजीकार्य तीव्र पारिएको उल्लेख गर्दै उनले सर्वसाधारणलाई कुनै शंका वा सूचना भए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरे।
फागुन २१ गते तोकिएको निर्वाचन मिति परिवर्तन गर्ने प्रश्न नै नउठ्ने मन्त्री अर्यालको भनाइ थियो। संविधानअनुसार संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था भएकाले सरकार त्यसै अनुरूप अगाडि बढिरहेको उनले बताए। “समयमै निर्वाचन गराउने र निर्वाचित सरकारलाई लोकतान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने दायित्वबाट सरकार पछि हट्दैन,” उनले भने।
सरकार गठन भएलगत्तै निर्वाचन आयोग सँग समन्वय गरी मतदाता नामावली अद्यावधिकदेखि अन्य तयारीका काम अघि बढाइएको उनले स्मरण गराए। अब मतदानको दिन नजिकिएकाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको धारणा थियो।
मन्त्री अर्यालले यो निर्वाचनलाई लोकतान्त्रिक निष्ठाको परीक्षणका रूपमा व्याख्या गर्दै शान्तिपूर्ण, अहिंसात्मक र व्यापक सहभागितासहित मतदान सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए। उनले जनतालाई कुनै अफवाह वा आशंकामा नपरी आत्मविश्वासका साथ मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरे।
