प्रधानमन्त्री सुशीला कार्कीको देशवासीलाई सन्देश
टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक संविधानको मार्गमा स्थिरतापूर्वक अघि बढिरहेको बताउँदै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आह्वान गरेकी छन् ।
जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थाबाट देशलाई विधिको शासनतर्फ उन्मुख गराउन नागरिकको संयमता र सहकार्य निर्णायक बनेको उनले उल्लेख गरिन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चार विषयमा विशेष अपिल गरेकी छन् । प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र समृद्धिका लागि सबै मतदातालाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन आग्रह गरिन् ।
मतदान केवल उम्मेदवार रोज्ने प्रक्रिया नभई भविष्य निर्धारण गर्ने अधिकार भएको उनको भनाइ थियो । फागुन २१ गते मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न उनले अपिल गरिन् ।
निर्वाचनको पूर्वसन्ध्यामा शान्ति र सद्भाव कायम राख्न उनले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयमित प्रचार गर्न र मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरिन् ।
लोकतन्त्र स्वस्थ प्रतिस्पर्धाबाट बलियो बन्ने बताउँदै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । निर्वाचन व्यवस्थापनमा खटिएका निकायप्रति धन्यवाद व्यक्त गर्दै उनले छोटो अवधिमै तयारी पूरा गरेको भन्दै निर्वाचन आयोगको प्रशंसा गरिन् । साथै सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहको सहयोग उल्लेख गर्दै मित्रराष्ट्र र संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन् ।
निर्वाचनकै आसपास परेको फागुपूर्णिमाको अवसर उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण देशवासीलाई शुभकामना दिइन् । मध्यपूर्वमा चर्किएको तनावप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले त्यहाँ रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि बताइन् ।
