काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दै गएको युद्ध र अस्थिरताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्न सक्ने आकलन गरिएको छ।
रूसी राष्ट्रपति कार्यालयका विशेष प्रतिनिधि तथा रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्तो संकेत गरेका हुन्। उनका अनुसार एसियाली बजारमा आपूर्ति हुने धेरैजसो कच्चा तेलको मूल्य अहिले नै ९० डलरभन्दा माथि पुगिसकेको छ भने ‘मुरबान क्रुड’ को मूल्य करिब ९६ डलरसम्म पुगेको छ।
दिमित्रिभले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका द इकोनोमिस्ट लगायतका सञ्चारमाध्यमले समेत तेलको मूल्य छिट्टै १०० डलरको स्तर पार गर्ने सम्भावना औँल्याएको उल्लेख गरेका छन्।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक सैन्य आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको विश्लेषण गरिएको छ। ती आक्रमणहरू तेहरानसहित इरानका विभिन्न प्रमुख सहरमा केन्द्रित रहेका थिए।
आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित केही उच्च नेतृत्वको मृत्यु भएको दाबीपछि स्थिति अझ तनावपूर्ण बनेको छ। त्यसपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै प्रतिआक्रमण थालेको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डले बहराइन, जोर्डन, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा रहेका अमेरिकी सैन्य आधारहरूमा प्रहार गरेपछि मध्यपूर्व क्षेत्र थप युद्धको जोखिममा पुगेको विश्लेषकहरूले बताएका छन्।
यस अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति शृंखला प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्र तथा तेल बजारमा पर्ने सम्भावना रहेको बताइएको छ।