काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी परित्याग गरेका छन्। मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा आफूले पार्टीभित्र रहेका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
उनले राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका विषयमा आफ्नो धारणा भने यथावत रहने उल्लेख गर्दै अब केही समय स्वतन्त्र रूपमा आफ्ना विचार र अडान सार्वजनिक गर्दै अघि बढ्ने बताएका छन्।
मिश्र हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी तेस्रो पटक पराजित भएका हुन्।
फेसबुकमा लेखिएको सन्देशमा उनले आफूले गरेको निर्णय कुनै आवेग, निराशा वा हतारमा नभई गम्भीर सोचविचारपछि लिएको स्पष्ट पारेका छन्। देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत रहेको दाबी गर्दै त्यसलाई संगठित र प्रभावकारी ढंगले अघि बढाउन राप्रपा बारम्बार असफल भएको उनले उल्लेख गरेका छन्।
यस अवस्थाका लागि पार्टीका वरिष्ठ उपाध्यक्षको नाताले आफू पनि जिम्मेवार रहेको स्वीकार गर्दै उनले बदलिँदो भूराजनीतिक परिस्थिति र देशभित्रका चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
मिश्रले देश र भावी पुस्ताको हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच र मार्ग आवश्यक भएको आफ्नो निष्कर्ष रहेको बताएका छन्।