के अब देशमा मतदाताले खोजे अनुसार परिवर्तन सम्भव छ ?
रुद्र खड्का
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा सानदार विजयीको यात्रामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब सरकार बनाउने लगभग पक्कापक्की भइसकेको छ । निर्वाचनअघिको सम्झौता अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गर्नेछन् । उनी झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै विजयी भएका छन् ।
यतिखेर रास्वपाले अत्यधिक मत पाउनुमा देशमा व्याप्त भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम र आर्थिक समृद्धिको अपेक्षा मुख्य कारण रहेका छन् । निर्वाचनअघि रास्वपाले मतदातालाई तिनै एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएर मत मागेको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले समेत मतदातालाई अनेक प्रलोभन देखाए पनि निर्वाचनमा ती दलका भनाइले मान्यता पाएनन् । रास्वपाले पार्टी स्थापनादेखि नै भ्रष्टाचारविरोेधी नारालाई महत्वका साथ उठाइरहेको छ । र, यसपटकको निर्वाचनबाट रास्वपालाई आफ्ना विगतका प्र्रतिबद्धता पूरा गर्ने अवसर प्राप्त भएको छ ।
उसो भए के अब रास्वपा आफ्ना प्रतिबद्धता पूरा गर्न सफल हुन्छ त भन्ने चासो छ । रास्वपाले भनेअनुसार देशमा भ्रष्टाचार व्याप्त छ । सर्वसाधारणले सानातिना सरकारी सेवा लिन पनि सास्ती खेप्नुपर्ने बाध्यता छ ।
किसानले मल पाउँदा मात्र सहज मान्नुपर्ने अवस्था छ । निकै मेहनतका साथ उत्पादन गरेको कृषि उपज बिक्रीका लागि सहज छैन । मेहनत गर्ने वर्गभन्दा गफ गर्नेको जीवन चमकधमक देखिन्छ । वातावरणीय प्रदुषण बढेको छ । कागजमा कृषि प्रधान देश भनेर चिनिए पनि अधिकांश कृषि उपज आयात गर्नुपर्ने अवस्था छ । किसान तथा परिश्रम गर्ने समूहको जीवन कष्टकर छ ।
युवाले विदेशबाट पठाएको रकमबाहेक देशले अन्य क्षेत्रबाट आम्दानी गर्न सकेको छैन । स्वदेशमा गुणस्तरीय शिक्षाको अभावमा अध्ययनका लागि मात्रै ठूलो संख्यामा युवा हरेक महिना विदेश जाने गरेका छन् । क्षमता भन्दा पनि नातावाद, कृपावाद फस्टाएको सहजै देखिन्छ । आमसर्वसाधारण यस्ता समस्याबाट मुक्ति पाउन आतुर छन् । यस्तो अवस्थामा रास्वपाले सुधारको यात्रा गर्नुपर्ने छ ।
सत्ताबाहिर रहँदा रास्वपाले यी सबै समस्या समाधान गर्ने दावी पनि गरेको थियो । हुनतः विगतमा नेपाली कांग्रेस, नेकपा एमाले तथा तत्कालीन माओवादी पनि मूलधारको राजनीतिमा प्रवेश गर्दा यस्तै कुरा नगरेका होइनन् । तर उनीहरूको प्रयास कामयावी हुन नसकेको आरोप लाग्दै आएको छ ।
अब केही दिनमा बन्ने रास्वपाको सरकारले कम्तीमा निर्वाचनताका आफूले गरेका यस्तै प्रतिबद्धता पूरा गर्नुपर्नेछ । यसअघिको प्रतिनिधिसभा बैठकमा २० सदस्य रहेको रास्वपाका सांसदहरूले देशमा आफ्नो पार्टीको बहुमत भए देखिने गरी नतिजामुखी काम गर्ने संसद्को रोष्टममा पटकपटक बताउने गरेका थिए । तर अहिले भने आममतदाताले रास्वपालाई काम गर्ने गरी जिम्मेवारी सुम्पेका छन् ।
जसरी रास्वपाले मत प्राप्त गरिरहेको छ, त्यो हेर्दा एमाले, कांग्रेसका सीमित नेताबाहेक ती पार्टीका कार्यकर्ताहरूले पनि रास्वपालाई नै मत दिएको प्रष्ट हुन्छ । यसले तत्काललाई हेर्दा रास्वपा विजयी भएजस्तो देखिए पनि अन्ततः आमजनताले उसको वास्तविक परीक्षा लिन खोजेको देखिन्छ ।
त्यसैले यो जित रास्वपाका लागि जति खुशीको अवसर हो, त्यो भन्दा बढी यो जितले उसलाई फलामको च्युुरा चपाउनुसरह कठिन अवस्थामा पु¥याएको छ । कुरा गर्नु र नतिजा निकाल्नु फरक कुरा हो । किनकि कुरा अनुसार काम गर्न सबभन्दा पहिला आफू इमान्दार त हुनैपर्छ । त्योसँगसँगै जनताको अपेक्षा अनुसार नतिजा निकाल्न स्रोतको अत्यावश्यक हुन्छ ।
अहिले नेपालको अर्थतन्त्र सबल अवस्थामा छैन । आर्थिक वृद्धिदर न्यून छ । वैदेशिक ऋण बढ्दो छ । वार्षिक बजेटको ७० प्रतिशत हाराहारी चालु खर्चमा सकिने गरेको छ । सीमित पूँजिगत बजेट पनि खर्च हुन सकिरहेको छैन । कर्मचारीतन्त्रलाई सुधार गर्न त्यत्तिकै आवश्यक छ ।
एमालेका अधिकांश शीर्ष नेताहरू पराजित
यसपटकको निर्वाचनमा नेकपा एमालेका अधिकांश शीर्ष नेताहरू पराजित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गोकर्ण विष्ट, विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका थुप्रै नेताहरू पराजित भइसकेका छन् ।
त्यस्तै अर्को पुरानो पार्टी नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको अवस्था पनि एमालेकै जस्तो छ । कांग्रेस सभापति गगन थापा विजयी हुने सम्भावना कम छ । उनले प्रतिस्पर्धा गरिरहेको सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहले निरन्तर मतान्तर बढाइरहेका छन् । कांग्रेसका अर्का नेता शेखर कोइराला पराजित भइसकेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पूर्वी रुकुम पुगेर आफ्नो जित सुनिश्चित गरे पनि मतदाताले त्यो दलको अवस्थालाई अझै खस्काइदिएका छन् ।
