निर्वाचनले स्थापित दलहरूलाई गम्भीर सन्देश दिएको छ : प्रदीप ज्ञवाली
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी रूपमा अग्र स्थानमा देखिएको छ। यही सन्दर्भमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ।
निर्वाचन परिणामलाई एमालेले कसरी लिएको छ ?
यो परिणाम एमालेका लागि अपेक्षा अनुरूप छैन। तथापि, हामी जनताले दिएको जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छौं। सबै नतिजा आएपछि विस्तृत समीक्षा गर्नेछौं। अहिलेका लागि रास्वपालाई शुभकामना दिन चाहन्छौं—जनताको आकांक्षा पूरा गर्न सफल होऊन्। वर्तमान जटिल भूराजनीतिक परिस्थितिमा राष्ट्रिय हितको संरक्षण ठूलो चुनौती बनेको छ। त्यसमा सन्तुलन कायम गर्दै राष्ट्रिय स्वाभिमान जोगाउने अपेक्षा हामीले गरेका छौं। लोकतन्त्र सुदृढ होस्, संविधान कार्यान्वयन प्रभावकारी बनोस् र जनताका अपेक्षा पूरा होऊन् भन्ने हाम्रो चाहना छ। नयाँ सरकारले गर्ने कामका आधारमा आगामी धारणा तय हुँदै जानेछन्।
एमाले अब पुनःसंरचनातर्फ कसरी अघि बढ्छ ?
यो निर्वाचन स्थापित दलहरूका लागि एउटा झट्का जस्तै भएको छ। एमाले मात्र होइन, नेतृत्व परिवर्तनपछि चुनावमा गएको कांग्रेसका लागि पनि परिणाम सन्तोषजनक देखिएन। यसको कारण केवल नेतृत्व होइन, अन्य धेरै पक्ष हुन सक्छन्। सम्भवतः हामीले जनताको बदलिँदो चाहना र मनोविज्ञानसँग आफूलाई पर्याप्त रूपमा जोड्न सकेनौं। त्यसैले समग्र कारणको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले संगठित र पुनःसंरचना गर्ने आवश्यकता देखिएको छ। यो निर्वाचनले परम्परागत राजनीतिक दलहरूलाई गम्भीर पाठ दिएको छ, जसलाई आत्मसात् गर्न जरुरी छ।
पुराना दलहरू किन कमजोर देखिए ?
रास्वपा पूर्ण रूपमा जनतासँग गहिरो रूपमा जोडिएको थियो भन्न सकिने अवस्था पनि देखिँदैन। तर परिवर्तनको नाराले मतदातालाई प्रभावित गरेको देखिन्छ। त्यो परिवर्तनको स्वरूप, लक्ष्य वा अन्तर्वस्तु के हो भन्नेबारे स्पष्टता न दलमा देखिन्छ न मतदातामै। तैपनि परिवर्तनको चाहनाले मतदातालाई आकर्षित गर्यो। यसले देखाएको अर्को कुरा के हो भने राजनीतिक दलहरूको नयाँ मतदातासँग मात्र होइन, पुरानै मतदातासँग पनि दूरी बढ्दै गएको छ। त्यसैले यस विषयमा गम्भीर समीक्षा अपरिहार्य छ।
