ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरिएको छ। ममताको मृत्यु आत्महत्याका कारण भएको भट्टको दाबीलाई अदालतले अस्वीकार गर्दै जुरीले उनलाई दोषी ठहर गरेको हो।
ममताको शव अहिलेसम्म फेला परेको छैन। तर, अदालतमा भएको सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको स्वीकार गरेका थिए। उनले हत्या गरेको भने अस्वीकार गर्दै ममता घरमा अचेत अवस्थामा भेटिएको र आफू आत्तिएपछि शव लुकाउने निर्णय गरेको दाबी गरेका थिए।
३९ वर्षीय भट्टलाई शव लुकाएको तथा शवसँग छेडछाड गरेको अभियोगमा पनि दोषी ठहर गरिएको छ। प्रथम श्रेणीको हत्यामा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव विकृत बनाएको अभियोगमा समेत थप कैद सजाय हुन सक्ने बताइएको छ।
अदालतले आगामी मार्च १२ मा भट्टलाई सजाय सुनाउने अपेक्षा गरिएको छ। फैसलासँगै उनको धरौटीमा रिहा हुने सुविधा पनि खारेज गरिएको छ।
फैसलापछि ममताको परिवारमा राहत
जुरीको फैसला सार्वजनिक भएपछि ममताका परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हाल्दै खुसी व्यक्त गरेका थिए। परिवारले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको थियो।
सरकारी वकिल एमी एशवर्थले फैसलालाई ममताका लागि न्याय सुनिश्चित गर्ने दिशाको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार ममताको परिवारले लामो समयसम्म पीडा र अनिश्चितता सहनुपरेको थियो।
ममताकी साथी तथा पूर्वसहकर्मी होली विर्थले पनि फैसलापछि आफूहरूको लामो संघर्ष सफल भएको प्रतिक्रिया दिइन्। उनले ममतासँग केही नराम्रो भएको भन्दै आफूहरू निरन्तर आवाज उठाउँदै आएको बताइन्।
उनका अनुसार ममताको हत्या भएको सत्य अदालतको प्रक्रियाबाट बाहिर आएको छ। उनले ममताको छोरीलाई आमाको माया र उनको व्यक्तित्वबारे सधैँ सम्झाइरहने प्रतिबद्धता पनि व्यक्त गरिन्।
२०२४ जुलाईदेखि हराएकी थिइन् ममता
२८ वर्षीया ममता काफ्ले भट्टलाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनी त्यहाँ नर्सका रूपमा कार्यरत थिइन्।
ममता बेपत्ता भएपछि उनको परिवार र साथीहरूले खोजी अभियान तीव्र पारेका थिए। त्यतिबेला उनकी छोरीको पहिलो जन्मदिन आउन केही सातामात्र बाँकी थियो।
ममता हराएपछि उनका पति नरेशले आफूलाई उनको अवस्थाबारे जानकारी नभएको बताएका थिए। उनले प्रहरीसँगको कुराकानीमा ममतालाई आफूले केही दिनअघि घरमा खाना खाँदा अन्तिमपटक देखेको बताएका थिए।
तर, मुद्दाको सुनुवाइका क्रममा भट्टले दिएको बयानले घटनालाई नयाँ मोड दियो।
अदालतमा शव टुक्र्याएको स्वीकार
छ हप्तासम्म चलेको सुनुवाइका क्रममा ममताका परिवार, साथी तथा अन्य व्यक्तिले अदालतमा बयान दिएका थिए। तर, सबैभन्दा महत्वपूर्ण बयान स्वयं नरेश भट्टको रह्यो।
अदालतमा बयान दिँदै उनले एक रात ममतालाई शयनकक्षमा अचेत अवस्थामा भेटेको बताएका थिए। उनको वरिपरि बान्ता र रगत देखिएको तथा नजिकै विषादीको प्याकेट रहेको भट्टको दाबी थियो।
उनले ममतालाई बचाउने प्रयास गरेको तर सफल हुन नसकेको बताए। त्यसपछि आपत्कालीन सेवामा फोन नगरी आफू आत्तिएको अवस्थामा शव लुकाउने निर्णय गरेको उनको भनाइ थियो।
भट्टले सुरुमा शव नदीमा फाल्ने सोच बनाएको र पछि फोहोरमा फाल्ने प्रयास गरेको बताएका थिए। शव फोहोरको भाँडोमा नअटाएपछि त्यसलाई टुक्राटुक्रा पारेको र प्लास्टिकका झोलामा राखेर फोहोर थिच्ने मेसिनमा फालेको उनले अदालतमा स्वीकार गरेका थिए।
त्यस क्रममा उनले आफ्नी सानी छोरीलाई समेत केहीपटक आफूसँगै लगेको बयान दिएका थिए।
साथीहरू भन्छन्– ममताका लागि अझै आवाज उठाउनुपर्छ
फैसलापछि ममताका साथीहरूले घरेलु हिंसा र महिलामाथि हुने जोखिमबारे थप सचेतना आवश्यक रहेको बताएका छन्।
ममताकी अर्की साथी सुनिता बस्नेतले फैसलाको दिनलाई महत्वपूर्ण दिनका रूपमा उल्लेख गर्दै महिलाको सुरक्षा र सम्मानका विषयमा समुदायस्तरमै थप काम गर्नुपर्ने बताइन्।
उनका अनुसार ममताको घटनाले धेरै महिला अझै हिंसा र धम्कीको जोखिममा रहेको विषय उजागर गरेको छ।
ममताको शव फेला नपरे पनि अदालतको फैसलाले उनको परिवार र साथीहरूलाई लामो समयदेखि प्रतीक्षित न्यायको अनुभूति गराएको छ। अब सबैको ध्यान आगामी मार्चमा हुने सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।
– एजेन्सी
