तिहारको मागले चम्कियो झिनियाको कारोबार, एउटै परिवारले कमाउँछ लाखौँ
म्याग्दी — तिहार नजिकिएसँगै म्याग्दीको बेनीमा परम्परागत परिकार झिनिया रोटीको कारोबार बढेको छ। स्थानीय उत्पादनका रूपमा लामो समयदेखि बनाइँदै आएको झिनिया अहिले चाडपर्वको स्वादसँगै धेरै परिवारका लागि आम्दानीको स्रोतसमेत बनेको छ।
बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहारमा माग बढेपछि उनले एक जना कामदारसमेत राखेर उत्पादन बढाएकी छन्। श्रेष्ठका अनुसार दसैं र तिहारको अवधिमा झिनिया बिक्रीबाट मात्रै करिब तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ।
बेनी बजारसँगै म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म झिनिया पठाउने गरिएको उनले बताइन्। मागअनुसार उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ।
मङ्गलाघाटकै हेमबहादुर पुनको परिवार पनि अहिले झिनिया उत्पादनमा केन्द्रित छ। उनका परिवारका १० जना सदस्य दैनिक उत्पादनमा खटिएका छन्। पुनका अनुसार एक दिनमा करिब एक बोरा चामलको पिठो बराबर झिनिया तयार हुन्छ। तिहारको समयमा झिनिया बिक्रीबाट दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए।
परम्परागत स्वादसँग जोडिएको व्यवसाय
चामलको पिठोबाट बनाइने झिनियालाई कतिपय ठाउँमा झिलिङ्गा रोटीसमेत भनिन्छ। तिहारमा विशेष रूपमा प्रयोग हुने यो परिकार हेर्दा आकर्षक, स्वादिलो र लामो समयसम्म राख्न सकिने भएकाले चाडपर्वमा यसको माग बढ्ने गरेको छ।
दिदीबहिनी तथा दाजुभाइबीच भेटघाट र पाहुना सत्कारका क्रममा झिनिया प्रयोग गर्ने चलन अझै कायम छ। आफन्तको घरमा जाँदा कोसेलीका रूपमा लैजाने प्रचलनले पनि यसको बजार विस्तार गरेको स्थानीयको भनाइ छ।
मङ्गलाघाटकी टकसरा रानाले झण्डै २५ वर्षदेखि झिनिया बनाउँदै आएकी छन्। उनका अनुसार परम्परा जोगाउनेसँगै यसबाट घरखर्च चलाउन सहयोग पुगेको छ।
स्थानीय बजारबाहेक पोखरा तथा विदेशबाट समेत झिनियाको माग आउने गरेको उनले बताइन्। दुई वर्षअघि अस्ट्रेलियाबाट करिब २५ हजार रुपैयाँ बराबरको झिनियाको माग आए पनि उत्पादन क्षमता सीमित हुँदा १३ हजार रुपैयाँ बराबरको मात्रै पठाउन सकिएको उनको भनाइ छ।
मेसिनको प्रयोगले उत्पादन बढाउँदै
झिनिया उत्पादनका लागि पहिले चामलको पिठो पकाइन्छ। त्यसपछि मेसिनको प्रयोग गरी पिठोलाई मसिनो त्यान्द्राको आकारमा निकालिन्छ। त्यसलाई करिब दुई दिन घाममा सुकाएपछि झिनिया तयार हुन्छ।
स्थानीय उद्यमीले अहिले परम्परागत विधिसँगै विद्युत्बाट चल्ने मेसिन पनि प्रयोग गर्न थालेका छन्। कल्पना श्रेष्ठले पनि विद्युत् मेसिनको सहयोगमा झिनिया उत्पादन गर्दै आएकी छन्।
उद्यमीहरूका अनुसार झिनिया बनाउन कम्तीमा तीन जनाको जनशक्ति आवश्यक पर्छ। तीन जनाले एक दिनमा ३५० भन्दा बढी झिनिया तयार गर्न सक्ने उनीहरूको अनुभव छ।
तयार भएको झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ। हाल बजारमा १२ वटा झिनियाको मूल्य करिब १४० देखि १५० रुपैयाँसम्म पर्ने गरेको छ।
स्थानीय महिलाका लागि आम्दानीको माध्यम
मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताए। तिहार नजिकिएपछि अधिकांश उद्यमी उत्पादन बढाउन व्यस्त छन्।
घरायसी कामबाट बचेको समय उपयोग गरेर महिलाले झिनिया उत्पादनमार्फत आम्दानी गर्न थालेका छन्। यसले परम्परागत सीप र स्थानीय खाद्य संस्कृतिलाई निरन्तरता दिनुका साथै परिवारको आर्थिक व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ।
उपभोक्ता समिती पुनका अनुसार घरमै झिनिया बनाउन समय र मेहनत लाग्ने भएकाले बजारमा किन्न सजिलो हुन्छ। लामो समयसम्म राख्न सकिने र कोसेलीका रूपमा लैजान सहज भएकाले तिहारमा यसको माग बढ्ने गरेको उनको भनाइ छ।
उत्पादन विस्तारका लागि प्रविधि र तालिम आवश्यक
झिनियाको माग बढ्दै गए पनि व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्न केही चुनौती रहेको उद्यमीहरू बताउँछन्। झिनिया उद्यमी हरिकुमार श्रेष्ठका अनुसार उत्पादनका लागि आवश्यक आधुनिक मेसिन, सीपमूलक तालिम र सुरक्षित भण्डारणको व्यवस्था गर्न सके व्यवसायलाई थप विस्तार गर्न सकिन्छ।
स्थानीय बजारमा सीमित नराखी झिनियालाई अन्य सहर तथा विदेशसम्म पुर्याउन सके यसको व्यावसायिक सम्भावना अझ बढ्न सक्ने देखिन्छ।
यसरी मङ्गलाघाटका उद्यमीले तिहारको परम्परागत परिकारलाई व्यवसायसँग जोड्दै आएका छन्। चाडपर्वमा बढ्ने मागले उनीहरूलाई छोटो अवधिमै राम्रो आम्दानीको अवसर दिएको छ भने झिनियाले स्थानीय संस्कृति, स्वाद र घरेलु उद्यमलाई पनि निरन्तरता दिएको छ।
