नयाँ प्रणालीका कारण राहदानी सेवा केही समय प्रभावित हुनसक्ने
काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले राहदानी वितरण प्रणालीमा परिवर्तन गर्न लागिएको भन्दै सेवा केही समयका लागि प्रभावित हुन सक्ने जनाएको छ। विभागका अनुसार नयाँ प्रविधि प्रणालीमा रूपान्तरण गर्ने क्रममा राहदानी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।
विभागले जारी गरेको सूचनामा हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवधिमा सेवा नियमित रूपमा सञ्चालन गर्न कठिन हुन सक्ने उल्लेख गरिएको छ। यस अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नहुँदासम्म राहदानी वितरणमा ढिलाइ हुन सक्ने विभागको भनाइ छ।
सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट उपलब्ध हुने राहदानी सेवा एकदेखि तीन हप्तासम्म प्रभावित हुन सक्छ। त्यस्तै विभागबाट सिधै प्रदान गरिने सेवा करिब एक हप्तासम्म रोकिन सक्ने जनाइएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन भने एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस कारण अन्तरिम अवधिमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले अहिलेको भन्दा केही बढी समय कुर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ।
विभागले आगामी छ महिनाभित्र अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई सम्भव भएसम्म अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट राहदानी लिन आग्रह गरेको छ।
नयाँ प्रणाली सुरु हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे भने अर्को सूचनामार्फत जानकारी गराइने विभागले जनाएको छ।
