राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन पेश
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले चुनौतीपूर्ण र जटिल परिस्थितिका बीच सम्पन्न गरिएको निर्वाचन सफल भएकोप्रति सन्तोष व्यक्त गरे। उनले निर्वाचन प्रक्रियामा संलग्न आयोग, कर्मचारी तथा अन्य सबै सरोकारवालाको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।
राष्ट्रपतिले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गरे। उनका अनुसार यसले निर्वाचन प्रणालीप्रति जनविश्वास अझ बलियो बनाएको छ र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको अनुभूति भएको छ।
