पक्राउ प्रतिशोधपूर्ण भएको ओलीको आरोप
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउलाई नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्। उनले पक्राउविरुद्ध कानुनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पारेका छन्।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो। पक्राउका लागि प्रहरी रातभर निवास क्षेत्रमा तैनाथ रहेको थियो। पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ।
गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरी पक्राउ पुर्जी लिएर निवास पुगेपछि ओलीले आफ्ना कानुन व्यवसायीसँग परामर्श गरेका थिए। पक्राउ हुनुअघि ओलीले वकिलहरूसँग आफ्नो गिरफ्तारी पूर्वाग्रहपूर्ण र प्रतिशोध प्रेरित भएको बताउँदै यसको कानुनी लडाइँ लड्ने बताएका थिए।
